काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकिएकाे छ । मंगलबार भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेलमा नेपाल र बंगलादेश १–१ को बराबरी खेल्दै अंक बाडेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बंगलादेशका लागि अहमेद नोभा र नेपालका लागि निरन्जन मल्लले गोल गरे ।

दोस्रो हाफको सुरुवातमै दुई टोलीका खेलाडीबीच झगडा हुँदा रेफ्रीले मैदानमा रहेका दुई र बेन्चका एक गरी कुल तीन खेलाडीलाई रातो कार्ड देखाएका थिए । बंगलादेशका साहिदुल इस्लामले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड पाउँदा नेपालका दीपेश गुरुङ सिधै रातो कार्ड पाउँदै बाहिरिए । मैदानभित्र पसेर झगडा गरेका कारण बेन्चका वैकल्पिक खेलाडी रोहित सुब्बाले पनि रातो कार्ड पाए ।
खेलको ६३ औं मिनेटमा बंगलादेशले अग्रता लिएको थियो । मोहमद रफिकुल इस्लामको क्रसमा मोहमद पियास अहमद नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडी निरन्जन मल्लले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक मोहमद आसिफले बचाउने कुनै अवसर पाएनन् ।
बराबरी खेलेसँगै नेपालले अंक तालिकामा हाललाई एक खेल कम खेलेको भारतलाई भने उछिनेको छ । नेपालको फाइनल पुग्ने सम्भावना अब भारत र माल्दिभ्सको खेलमा निर्भर छ । माल्दिभ्सले भारतलाई हराएको खण्डमा नेपाल फाइनल पुग्नेछ । भारतको बराबरी वा जितले भने नेपालको यात्रा समूह चरणमा सकिनेछ ।
नेपाल ४ खेलमा ७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेश ४ खेलमा १० अंकसाथ अपराजित रहँदै लिगको शीर्षस्थानमा रहेर फाइनल प्रवेश गर्न सफल भएको छ । भारत ३ खेलमा ६ अंकसाथ तेस्रो स्थानमा छ । समान १(१ अंक जोडेका माल्दिभ्स चौथो र श्रीलंका पुछारमा छ । आज भारत र माल्दिभ्सले साँझ ७स्१५ बजे अन्तिम लिग खेल खेल्नेछन् ।











