Logo
Logo

म्याग्दीका नदीमा बाढीको सूचना दिन हेरालु



म्याग्दी । म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ ।

स्थानीय तहले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन् ।बाढीको अवस्थाबारे नियमित जानकारी गराउने हेरालु परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए ।

पानी परेको दिन हेरालुले स्थानीय तह, जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल शाखा र जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा नदीमा बाढीको अवस्था बारेमा जानकारी गराउँछन् ।

उक्त सूचनाको आधारमा नजिकको चौकीबाट घटनास्थलमा तत्कालै प्रहरी खटाउने र आवश्यकता परेको अवस्थामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सेनालाई परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको छ ।

अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगंगा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मंगला गाउँपालिकाले बाबियाचौर, मालिका गाउँपालिकाले दरवाङ र धौलागिरि गाउँपालिकाले मुना र मुदीमा हेरालु राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्