Logo
Logo

जनमत पार्टीद्धारा मधेसका मुख्यमन्त्री राउतको राजिनामा माग



जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजिनामा माग गरेका हुन् ।

कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप जनमत पार्टीको छ । ‘मुख्यमन्त्री कै नाम जोडिएको कार्यक्रम, मुख्यमन्त्रीकै कार्यालयबाट सञ्चालित कार्यक्रम, मुख्यमन्त्रीकै निर्देशनमा सबै निर्णय हुने कार्यक्रममा मात्र कर्मचारी दोषी छन् भनेर तर्क गर्नु गलत हो, मुख्यमन्त्रीको संलग्नता बिना यत्रो ठूलो भ्रष्टाचार हुनै सक्दैन,’ सो पार्टीका नेता वीपी साहले भने, ‘आफ्नै हातबाट साइकल वितरण गर्ने, फोटो खिचाउने तर कुन ब्राण्डको साइकल वितरण भइरहेको छ भनेर मुख्यमन्त्रीले थाहा नपाउने कुरै भएन ।’

नेता साहले भने,‘मुख्यमन्त्री हुनुभन्दा पहिले लालबाबु राउत बीरगंज महानगरपालिकाको कर्मचारी हुँदा पनि भ्रष्टाचारमा मुछिएका थिए । त्यतीबेला नै राउत जीले भ्रष्टाचार कसरी गर्ने र कसरी जोगिने भनेर तालिम लिनु भएको होला । त्यसकारण साइकल खरिदमा कागजी रुपमा आफू नदेखिने गरी भ्रष्टाचार गर्नु भएको छ।’

राजनीतिक दबाब र प्रभावका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री राउतलाई जोगाउन खोजेको आरोप पनि सो पार्टीले लगाएको छ । मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध बुधबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्