Logo
Logo

ह्वात्तै घट्यो निक्षेप, साउनयता ११६ अर्बले कमी



काठमाडौं । बैंकिङ प्रणालीमा अस्वाभाविकरुपमा निक्षेप घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ हप्तामा बैंकिङ प्रणालीबाट १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार असार ३२ गते बैंकिङ प्रणालीमा ५१ खर्ब ५३ अर्ब १० करोड रुपैयाँ निक्षेपे थियो ।

साउन २३ गतेको रिपोर्टअअनुसार ५० खर्ब ३७ अर्ब रुपैयाँमा झरेको छ । असार ३२ गते ४७ खर्ब ४० करोड रुपैयाँ रहेको कर्जा ८ अर्ब रुपैयाँले घटेर ४६ खर्ब ९२ अर्बमा झरेको छ । कर्जाको तुलनामा निक्षेप करीब १० गुणाले घटेपछि तरलता संकट झन् बढ्ने देखिएको छ । अधिकांश बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा सीमानजिक को छेवैमा छ ।

औषतमा बैंकिङ प्रणालीको सीडी रेसियो ८७.८६ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको नियमअनुसार यस्तो रेसियो ९० प्रतिशतभन्दा कम हुनुपर्छ ।
असार मसान्तमा सीडी रेसियो ९० प्रतिशतभन्दा कम गर्न बैंक तथा वित्त कम्पनीले कृत्रिम निक्षेप खडा गरेको आरोप लाग्दै आएको छ । अहिले निक्षेप ह्वात्तै निक्षेप घट्नुले उक्त आरोप सही भएको अनुमान गर्न सकिन्छ । यद्यपि यस विषयमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको जनाएको छ । विगतमा पनि साउनमा बैंकको निक्षेप घटेकै देखिन्छ ।

तर, यो साउनमा भने अस्वाभाविकरुपमा घटेको हो । गत आर्थिक वर्षको साउनमा बैंकिङ प्रणालीबाट ७२ अर्ब रुपैयाँ निक्षेप घटेको थियो । अघिल्लो वर्षको साउनमा भने कोरोना महामारीका कारण निक्षेप केही बढेको थियो ।

असार मसान्तसम्म २६ वाणिज्य बैंकले ४५ खर्ब ३९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । अहिले वाणिज्य बैंकको निक्षेप १ खर्ब १ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ३८ अर्ब रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्