Logo
Logo

अदालतको पत्रले कर्णालीका पर्यटनमन्त्री शाहीको सपथ रोकियो


4.1k
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले बिहीबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका वीरबहादुर शाहीको शपथ रोकिएको छ । उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपु¥याएको भन्दै पत्र लेखेपछि शपथ रोकिएको हो ।

यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको भन्दै शाहीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए ।

तर, उच्च अदालतले मन्त्रिपरिषद् समावेशी नभएको भन्दै पत्र लेखेपछि शपथ रोकिएको हो । ८ सदस्यीय मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व नभएपछि ०७८ माघ अन्तिमतिर अधिवक्ता शेरबहादुर खत्री र टिका विष्टले सरकारले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा मन्त्रिपरिषद्को गठन नगरेको भन्दै रिट दायर गरेका थिए ।

उक्त रिट उपर मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्नु भन्दै सरकारका नाममा आदेश जारी गरेको थियो । तर, बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीले अदालतको आदेशको बे–वास्ता गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
पत्रमा मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशी सिद्धान्त बमोजिम भए–नभएतर्फ संवेदनशील भइ आ–आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न–गराउनका लागि प्रदेश प्रमुख र मुख्यमन्त्रीको ध्यानकर्षण समेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्