Logo
Logo

शैक्षिक गुणस्तर सुधारलाई हलेसी तुवाचुङको पहल


441
Shares

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको परीक्षा प्रणाली, अङ्ग्रेजी र स्थानीय भाषामा पठन/पाठन, विद्यार्थीलाई शुल्क मिनाहा लगायतका योजना बनाएर शैक्षिक गुणस्तर सुधारको पहल थालेको छ ।

त्यसको लागि लागि आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट रु एक करोड ४७ लाख बजेट विनियोजन गरिएको नगरप्रमुख विमला राईले बताए । ‘डाक्टर, इञ्जिनियर, पाइलट तथा विद्यावारिधि अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ’, उनले भने, ‘आगामी पाँच वर्षभित्र परिणाम देखिनेगरी शिक्षामा लगानीको तयारी गरेका छौँ ।’

आवश्यकताका आधारमा नगर शिक्षक नियुक्ती, दरबन्दी समायोजन, विद्यालय थपघट लगायतका योजना बनाइएको छ । विद्यार्थी आकर्षित गर्न दिवा खाजा कार्यक्रम कार्यान्वयनमा ल्याउने जनाइएको छ ।

कुनै पनि बहानामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबाट शुल्क नलिन नगरपालिकाले विद्यालयलाई निर्देशन दिएको छ । विभिन्न बहानामा शुल्क असुल्ने गरेको अभिभावकले गुनासो गरेपछि नगरपालिकाले आगामी दिनमा कुनै पनि बहानामा शुल्क नलिन निर्देशन दिएको हो ।

निजी शिक्षकलाई तलब दिने बहानामा विद्यालयले विद्यार्थीबाट शुल्क असुल्दै आएका थिए । सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा पूर्णरुपमा निःशुल्क गर्नेगरी चालु आर्थिक वर्षमा नगरपालिकाले रु १७ लाख बजेट विनियोजन गरेर (जेरो फि) कार्यक्रम लागू गरेको छ ।

माध्यमिक १२, कक्षा १–८ आधारभूत १३ र कक्षा १–५ आधारभूत ६४ वटा सामुदायिक विद्यालय छन् । भर्ना र परीक्षा शुल्क, चारित्रिक प्रमाणपत्र निर्माण लगायतका कारण देखाउँदै विद्यालयले नियम विपरीत शुल्क लिएको भन्दै अभिभावकले गुनासो गरेपछि आगामी दिनमा कुनै पनि बहानामा शुल्क नलिन निर्देशन गरिएको शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले बताए ।

कक्षा ४–९ का लागि वार्षिक परीक्षामा आवश्यक उत्तरपुस्तिका र प्रश्नपत्र, चारित्रिक र लब्धाङ्क प्रमाणपत्र नगरपालिकाले नै उपलब्ध गराउने छ । विद्यालयलाई प्रविधिसँग जोड्ने योजना छ ।

विद्यालयलाई आवश्यक र जनशक्तिका आधारमा कम्प्युटर, फोटोकपी मेसिन उपलब्ध गराएर सञ्चालन गर्ने तालिमसमेत नगरपालिकाले दिने संयोजक कार्कीले बताए । नगरपालिका विद्यालयलाई पेपर लेस बनाउने अभियानमा रहेकाले सबै विद्यालयमा इन्टनेटसमेत पु¥याइएको छ ।

विद्यालयमा सिसिटिभी जडान गरेर त्यसको निगरानी नगरपालिकाले गर्ने जनाएको छ । सिसिटिभीमार्फत नगरपालिकाले शिक्षक तथा विद्यार्थीको क्रियाकलाप निरीक्षण गर्ने भएपछि उनीहरु सजग भएका छन् ।

नगरपालिकाले सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी माध्यमबाट अध्ययन गराउने योजना ल्याएको छ । यो वर्षबाट १२ वटा माध्यमिक विद्यालयको कक्षा एकमा अङ्ग्रेजी माध्यमबाट पठन÷पाठन शुरुआत् गरेको छ ।

अर्को वर्षबाट क्रमैसँग अन्य कक्षा र अन्य विद्यालयमा पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउदै जाने नगर प्रमुख राईले बताए । नगरपालिकाले कक्षा एकदेखि नौसम्मको वार्षिक परीक्षा (एसइई) जस्तै गर्ने भएको छ ।

विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परीक्षण गर्दा विद्यार्थीको सही मुल्याङ्कन हुन नसकेको भन्दै नगरपालिकाले (एसइई) जस्तै परीक्षा सञ्चालन गरिने निर्णय गरेको सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर एक बाहुनिडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताए । ‘कक्षा एकदेखि नौसम्मका विद्यार्थीका लागि नगरपालिकाले प्रश्नपत्र तयार गर्छ’, उनले भने, ‘परीक्षाको समयमा फरक विद्यालयका शिक्षक परीक्षा नियन्त्रक बनाएर परीक्षा सञ्चालन गर्ने योजना बनाएका छौँ ।’

नगरपालिकाले स्थानीय भाषाको संरक्षणका लागि स्थानीय पाठ्यक्रम निर्माण गरेर चाम्लिङ र तिलुङ भाषाको पठनपाठन शुरु गरेको छ । वडा नं. ३ च्यास्मिटारका विद्यालयमा तिलुङ भाषाको पठनपाठन शुरु गरिएको जनाइएको छ ।

ऐच्छिक विषयका रुपमा सय पूर्णाङ्कको तिलुङ भाषाको पाठ्यपुस्तक तयार पारेर औपचारिक रुपमा नै पठनपाठन शुरु गरिएको नगरपालिकाले जनाएको छ । अन्य वडाहरु क्रमशः वडा नं. पाँचदेखि एघारसम्म वडामा सञ्चालित विद्यालयमा स्थानीय पाठ्यक्रमका रुपमा चाम्लिङ भाषा पढाइ हुने भएको छ ।

पुराना पुस्ताको अन्त्यसँगै भाषा तथा संस्कार/संस्कृति पनि अन्त्य भएर जाने अवस्था आएकाले भाषा संरक्षण गर्न चाम्लिङ, तिलुङ, वाम्बुले र मगर भाषाको पाठ्यक्रम तयार गरेर पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ । स्थानीय भाषको पठनपाठन शुरु भएको विद्यालयमा पाठ्यपुस्तक र शिक्षक नगरपालिकाले व्यवस्थापन गरेको नगर प्रवक्ता एवम् वडा नं. सात महादेविस्थानका वडाध्यक्ष कमल गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्