
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौं आईपुगेका छन् ।
प्रभाकरलाई क्यानका पदाधिकारीले शनिबार राति त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका छन् । नेपाली क्रिकेट र खेलाडीको बारेमा आफूलाई जानकारी रहेकोले केही समयमा परिवर्तन देखिने गरि काम गर्ने प्रभाकरले प्रतिक्रिया दिएका छन् ।
आफ्नो क्रिकेटको अनुभवले नेपाली क्रिकेट खेलाडीलाई अरूभन्दा फरक तरिकाले प्रशिक्षण दिन सक्ने उनको भनाइ छ । ‘मैले सजिलोका लागि जिम्मेवारी लिएको होइन,’ उनले भने, ‘नेपालको टीमलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सक्दो मेहनत गर्छु ।’
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्ध हुने भएको छ ।











