काठमाडौं । साउनमा वाणिज्य बैंकको प्रणालीबाट १ खर्ब २१ अर्ब रुपैयाँ बाहिरिएको छ । असारसम्म बैंकसँग ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो ।
साउनको अन्त्यसम्म निक्षेप घट्दै गएर ४४ खर्ब २१ अर्ब रुपैयाँमा सीमित भएको छ । साउन पहिलो साता ६४ खर्ब रुपैयाँले निक्षेप घटेको थियो । दोस्रो साता २८ अर्ब, तेस्रो साता ४ अर्ब र चौंथो साता २६ अर्ब रुपैयाँले निक्षेप संकलन ऋणात्मक भएको नेपाल बैंकर्स संघले सोमबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

जबकि यसअघि जेठसम्ममा ४४ खर्ब रुपैयाँमात्रै निक्षेप थियो । असारमा १ खर्ब ४१ अर्ब रुपैयाँ थपियो । तर चालू आव लागेपछि बैंकको पैसा कहाँ गयो भन्नेमा बैंकर पनि अचम्मित छन् । दिनप्रतिदिन बैंकमा निक्षेप घट्दा संकट पैदा हुन लागेको छ । किनभने कर्जा प्रवाहको मुख्य स्रोत नै निक्षेप हो । प्रायः असार मसान्तमा सरकारी राजस्व तिर्नुपर्ने भएकाले पनि बैंकिङ प्रणालीबाट पैसा बाहिरिएको बैंक विज्ञ अनलराज भट्टराईको अनुमान छ ।
विगतको तुलनामा बढी रकम बैंकिङ प्रणालीबाट बाहिरिएको र यस अवधिमा नफर्किएको उनले सुनाए । ‘विगतमा एक प्रतिशतले घट्यो भने अहिले दुई प्रतिशतले घटेको छ,’ उनले भने, ‘हुन त असारमसान्तमा राजस्व तिर्ने बेला पनि हो । साथै आयात पनि बढिरहेको छ । नेपाल आयल निगमले पनि तेलको रकम भुक्तानीले बैंकिङ प्रणालीमा निक्षेप घटेको हुन सक्छ ।’
यतिबेला बैंकमा कर्जाको माग पनि खासै घटेको छैन । बैंकले गर्ने लगानीले कर्जा निक्षेप (सीडी रेसियो) अनुपात पनि खासै खुकुलो छैन । संघका अनुसार साउन २७ सम्ममा उक्त रेसियो औसत ८८.३५ प्रतिशत पुगेको छ । जबकि नेपाल राष्ट्र बैंकले असार मसान्तपछि सीडी रेसियो ९० प्रतिशत हुनै पर्ने व्यवस्था गरेको छ ।
बैंकले गत आर्थिक वर्षभर पूरै तरलता अभावमा बिताएका थिए । यसकारण गत आवमा सबै वाणिज्य बैंकको कर्जा निक्षेप कसिलो थियो । एकातिर निक्षेप घटेको तथा अर्कातर्फ कर्जा प्रवाह पनि खासै नघटेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल बताउँछन् । उनका अनुसार सामान्यतया यतिबेला निक्षेप घट्छ ।
तर यसपटक भने बढी नै घटेको छ । ‘ऋणीले कर्जाको ब्याज तिरेर निक्षेप घटेको हुन सक्छ । यतिबेला ग्राहकको खर्च गर्ने समय पनि हो,’ उनी भन्छन्, ‘तर विगतका वर्षलाई हेर्दा यदि खर्च प्रणालीबाट बाहिरिने हो भने सामान्यतया ३०–४० अर्ब रुपैयाँ हाराहारीमा जानु पथ्र्यो । खर्ब माथि बाहिरिनुले असामान्य स्थिति पैदा गर्ने जोखिम छ ।’
२६ वटा वाणिज्य बैंकबाट साउन मसान्तसम्म ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यो असार महिनाकै हाराहारीमा रहेको संघको तथ्यांकले देखाएको छ । यद्यपि यसअघिका महिनाभन्दा बढी कर्जा कम प्रवाह भएको छ । गत जेठसम्ममा कुल कर्जा ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा १८ अर्ब रुपैयाँले घटेको संघले बताएको छ ।
बैंकको मुख्य स्रोत संकलन घट्दै गएकाले थप कर्जा प्रवाह पनि कसिलो बन्दै गएको छ ।












