Logo
Logo

पूर्वाधार अभावबीच खेलाडीलाई प्रशिक्षण गराइँदै


4.3k
Shares

बनेपा । आगामी असोजमा कास्कीको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि काभ्रेपलाञ्चोकका खेलाडी अभयासमा जुटेका छन् । भर्खरै जिल्ला स्तरीय छनोट सम्पन्न भएको छ ।

विभिन्न खेलका खेलाडी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएका छन् । बागमती प्रदेशमा उत्कृष्ट हुने खेलाडीले नवौँ राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छन् ।

जिल्लाबाट विभिन्न विधामा प्रदेशमा छनोट हुँदाको सकस खेलाडी र प्रशिक्षकलाई खपिनसक्नुको छ । खेल सामग्री र पूर्वाधार अभावमा खेलाडी र प्रशिक्षकले धेरै हन्डर खाए । खुलाचौरमा घाम पानी नभनीकन उनीहरुले अभ्यास गरे । ‘विभिन्न समस्याबीच प्रदेशका लागि खेलाडी छनोट ग¥यौँ’, काभ्रेपलाञ्चोक तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं तेक्वान्दो प्रशिक्षक राजमन्दिर श्रेष्ठले भने । उनी पाँच वर्षदेखि खेलाडी उत्पादन गर्दै आएका छन् ।

सुरुआतमा बनेपा नगरपालिका–५ भिमसनेस्थानस्थित एभरेष्ट एकेडेमी परिसरबाट प्रशिक्षण थालेका श्रेष्ठले अहिले पनि निरन्तरता दिँदै आएका छन् । ‘करिब एक सय प्रशिक्षार्थीलाई खेल प्रशिक्षणसँगै हाइकिङ गराएर आकर्षित गराउँदै आएको छु’, उनले भने । खेल मैदान अभावले प्रशिक्षार्थीलाई चाहेअनुसारले खेलाउन नपाएको बताउछन् ।

‘सबैभन्दा ठूलो समस्या खेल मैदानको छ’, उनले भने, ‘बनेपा नगरभरिमा नै व्यवस्थित खेलमैदान छैन, त्यस्तो समस्याको बावजुद पनि अभ्यास गरायौँ ।’ विद्यालयको प्राङ्गण मागेर तथा पार्टी प्यालेस प्रयोग गरेर अभ्यास गराएको श्रेष्ठ बताउछन् ।

नगरपालिका र वडासँग खेलमैदानका लागि सहयोग माग्दै आएको उनले बताए । कुनै व्यक्तिले दान गरेका खण्डमा खेल मैदानका लागि सहयोग गर्न सकिने प्रतिक्रिया दिएको श्रेष्ठले बताए । ‘अहिले आफ्नै जग्गामा टहरा बनाएर खेलाडीलाई प्रशिक्षण दिँदैछु’, उनले भने । जिल्लाका विभिन्न स्थानमा शाखा सञ्चालन गरेर श्रेष्ठले करिब पाँच सय तेक्वान्दो खेलाडी उत्पादन गरेका छन् ।

यस्तै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको भकुण्डेवेशीमा करिब सात वर्षदेखि नेपाल क्योकुशिन कराते डो सङ्घ बज्र शाखा सञ्चालन गरेर प्रशिक्षण दिँदै आएका दिल दोर्जे लामा पनि बिना पूर्वाधार र सामग्रीका भरमा खेलाडी उत्पादन गर्दै आएका छन् ।

‘व्यक्तिको खाली जग्गालाई सम्याएर खेलमैदानका रुपमा प्रयोग गर्दै आएका छौँ’, उनले भने । बागमती प्रदेश सरकारको पहलमा भकुण्डेबेशी बजारदेखि दुई किलोमिटर टाढा अभ्यास गराउन एउटा हल निर्माण गर्दै छ । ‘हल निर्माण भएपछि प्रशिक्षण दिन सहज हुनेछ’, लामाले भने ।

खासमा सबै खेलको प्रशिक्षण गराउन राज्यले सहयोग गर्नुपर्ने उनी बताउछन् । ‘खेललाई राज्यले प्राथमिकता दिएको देखिँदैन’, उनले भने, ‘जिल्ला, प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताका लागि खेलाडी उत्पादन र प्रतियोगितामा सहभागी गराउन आफैले लगानी गर्नु परिरहेको छ ।’ खेलाडीले खल्तिबाट खर्च गरेर प्रतियोगितामा सहभागी हुनुपर्ने अवस्थाको अन्त्य हुन जरुरीरहेको लामा बताउछन् ।

प्रतिक्रिया दिनुहोस्