धनकुटा । चौबिसे गाउँपालिका–८ का ४४ वर्षीय दीपक दाहालले २०६० देखि २०७१ सालसम्म जीवनयापनका लागि पटक–पटक पेसा परिवर्तन गरे ।

पिसिओ (टेलिफोन सेवा), रेमिट्यान्स, निर्माण व्यवसायी र विभिन्न सामाजिक संस्थामा सेवा गरेर आत्मसम्मानका साथ जीवनयापन गर्ननसके पछि उनी अहिले बाख्रापालनमा रमाउँदै आएका हुन् ।
विसं २०७१ मा वडा नं ३ र ८ को सिमानामा रहेको जरुवा खोला किनारमा आफ्नो १३ रोपनी जमिनमा लाँगर्चे एग्रो फार्म दर्ता गरेर काम सुरु गरेका कृषक दाहालले हाल दुई सय वटा बोयर जातको बाख्रा पालेका छन् । तीन किमि टाढासम्म कतै बस्ती नभएको एकान्त ठाउँमा फार्म सुरु गर्दा सबैले केटो बहुलायो, तिम्रा ज्वाइ, भिनाजु बहुलाए, मानसिक अस्पताल लानु भनेर होच्याएका थिए ।
‘तर तिनैले आज तारिफ गरेको सुन्दा आनन्द लाग्छ ।’ उनले भने । सुरुमा २५ हजार लगानी गरेर १० वटा स्थानीय जातको जमुनापारी बाख्रा किनेर ब्यवसाय सुरु गरेका दाहालसँग हाल एक सय ५० माउ सहित दुई सयभन्दा बढी बोयर जातका बाख्रा छन् ।
विसं २०७५ मा कृषि विकास बैंकबाट रु २५ लाख ऋण लिएर २२ वटा बोयर बाख्रा थपेका उनले हाल वार्षिक रु ५० लाख बराबरको कारोबार गरेर आठदेखि १० लाखसम्म कमाउने गरेको जानकारी दिए ।
कृषक दाहालले झापा, सुनसरी, मोरङ, रामेछापलगायत स्थानका संस्था तथा व्यक्तिलाई प्रतिगोटा रु एक लाख ५० हजारदेखि तीन लाख ५० हजारसम्मका खसी, बोका तथा पाठापाठी बेच्ने गरेको जानकारी दिए ।
मुक्तिनाथ बैंकबाट लिएको रु ४७ लाख ऋण र आफूसँग भएको रकमसमेत थप गरेर अहिले उनले ६७ रोपनी जमिन खरिद गरी पाँच सय माउ बाख्रा पाल्ने तयारी गरिरहेको बताए । विसं २०८२ देखि एग्रो टुरिजमसमेत सञ्चालनमा ल्याउने तयारी गरेका कृषक दाहालले आफ्नो फर्ममा मासिक रु २० हजार पारिश्रमिक दिएर दुई जनालाई पूर्ण रोजगारी र आठ जनालाई आंशिक रोजगारी दिएका छन् ।














