रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको अतुलनीय सहयोग रहेको बताएका छन् । उनले नेपालको विकास लागि भारतले गरेको सहयोगप्रति धन्यवाद दिए ।

श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय रोहिणी गाउँपालिका–३ स्वामीनगर, धकधई रुपन्देहीको निर्मित दुईतले भवन तथा प्रयोगशालाको समुद्घाटन समारोहमा आज उहाँले संयुक्त राष्ट्रसङ्घको एउटा गतिशील मुलुकका रुपमा नेपाल अघि बढिरहेको बताए ।
नेपाली र भारतीय जनताबीचको सम्बन्धले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउँदै उनले नेपाल र भारतको भाषा, वेषभूषा, संस्कृति, चाडपर्व मिल्दोजुल्दो उल्लेख गरे । गृहमन्त्री खाणले नेपालको संविधानले नेपाली जनतालाई शक्तिको केन्द्रमा राखेको र जनतालाई नेपालको मालिकका रुपमा स्थापित गरेको बताए ।
गत वर्ष विश्वभरि कोभिड महामारीले जनताको जीवनमा गम्भीर प्रभाव परेको बताउँदै उनले भारत सरकारले नेपाल सरकारलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको उल्लेख गरे ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा ४० प्रतिशत विद्यार्थी छात्रा हुनु महत्वपूर्ण भएको बताए । भारतमा पनि छात्राको शिक्षामा सरकारले जोड दिएको बताउँदै उनले नेपाली र भारतीय जनताबीच राम्रो सम्बन्ध रहेको उल्लेख गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए ।











