Logo
Logo

११ अर्बले बढ्याे निक्षेप, बैंकर भन्छन्-अपेक्षाअनुसार भएन


315
Shares

काठमाडाैं । चालू आर्थिक वर्षको दोस्रो महिना निक्षेप संकलनमा झिनो सुधार भएको छ ।

गत आवको अन्त्यतिर वाणिज्य बैंकको निक्षेप वृद्धि घटेको भए पनि भदौ तेस्रो सातामा आएर ११ अर्बले निक्षेप वृद्धि भएको हो । चाडपर्व नजिकिँदै गर्दा बैंकिङ प्रणालीमा देखिएको झिनो सुधारले कर्जा प्रवाहमा खासै सहज नबनाउने बैंकरको भनाइ छ ।

यद्यपि दसैं, तिहारको खर्चका लागि व्यवसायीले लगानी गर्न र आम ग्राहकले किनमेलमा खर्च गर्दा प्रणालीबाट अझै पैसा बाहिरिने अनुमान छ । नेपाल बैंकर्स संघले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ पहिलो र दोस्रो साता ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप थियो । अहिले ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।

कुल निक्षेपमा १ खर्ब १३ अर्ब रुपैयाँ वैदेशिक मुद्रामा छ । बाँकी ४३ खर्ब २५ अर्ब रुपैयाँ स्वदेशी मुद्राको निक्षेप हो । विदेशी मुद्रामा संकलन भएको निक्षेप यसअघिको साता १ खर्ब ११ अर्ब थियो । अहिले २ अर्बले सुधार भएको तथ्यांकमा उल्लेख छ ।जबकि यसअघि सातामै खर्बौं रुपैयाँले बैंकिङ प्रणालीबाट निक्षेप गायब भएको थियो ।

साउन ३१ गतेसम्म कुल ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । सो अवधिसम्ममा बैंकिङ प्रणालीबाट १ खर्ब ८ अर्ब रुपैयाँ बाहिरिएको थियो । जबकि असारसम्ममा बैंकसँग कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको निक्षेप थियो । साउनलगत्तै प्रत्येक साता बैंकबाट अर्बौं रुपैयाँ निक्षेप घट्दै गएर ४४ खर्ब ३३ अर्ब रुपैयाँमा सीमित भएको थियो ।

तर, समग्र बैंकमा सातामा ८-१० अर्ब बढ्नु खासै महत्वपूर्ण नभएको सिभिल बैंकका प्रमुख कार्यकारी निर्देशक (सीईओ) सुनील पोखरेल बताउँछन् । उनका अनुसार बैंकको निक्षेपमा खासै वृद्धि हुन नसकेका बेला थोरै बढ्नु स्वाभाविक हो । ‘प्रत्येक बैंकको सातामा निक्षेप १-२ प्रतिशतले तलमाथि हुनु स्वाभाविक हो । अपेक्षाअनुसार खासै निक्षेप संकलन भएको छैन । निक्षेपको मासिक रूपमा ब्याजलाई पुँजीकरण गर्दा बढेको देखिएको हो,’ सीईओ पोखरेलले भने, ‘चुनावसम्ममा धेरै सुधार होला ।’

उनले पर्यटकीय सिजन आउन थालेकाले पुसदेखि बैंकको अवस्था पनि सुध्रिने उनको आँकलन छ । एकातिर बैंकले लगानी गर्ने मुख्य स्रोत निक्षेप अपेक्षाअनुसार संकलन गर्न सकेका छैनन् । अर्कोतर्फ कर्जा प्रवाहको क्षमता पनि कसिलो छ । साथै बैंकमा कर्जाको माग पनि आएअनुसार दिन नसकेकोे बैंकर सुनाउँछन् ।

बैंकले गर्ने लगानीले कर्जा निक्षेप (सीडी रेसियो) अनुपात झन् कसिलो बन्दै गएको छ । संघका अनुसार भदौ १७ सम्ममा उक्त रेसियो औसत ८८.२५ प्रतिशत पुगेको छ । जबकि नेपाल राष्ट्र बैंकले असार मसान्तपछि सीडी रेसियो ९० प्रतिशत हुनै पर्ने व्यवस्था गरेको थियो । यद्यपि बैंकले गत आर्थिक वर्षभर पूरै तरलता (लगानीयोग्य रकम) अभावमा बिताएका थिए ।

यसकारण गत आवमा सबै वाणिज्य बैंकको सीडी रेसियो कसिलो थियो । यस पटक पनि अवस्था खासै फरक छैन । किनभने हरेक बैंकले सीडी रेसियो १–२ प्रतिशतको कुशनमा राखेर बस्न जरुरी भएकाले बढीमा ८७ प्रतिशतमात्रै भए राम्रो मान्न सकिने सीईओ पोखरेलको तर्क छ ।

लगानी क्षमता कसिलो भए पनि बैंकले भदौ तेस्रो साता कर्जा प्रवाह १ अर्बले बढाएर कुल ४१ खर्ब ८१ अर्ब रुपैयाँ पु¥याएका छन् । कुल कर्जामा विदेशी मुद्रामा ३० अर्ब रुपैयाँ लगानी भएको छ । बाँकी ४१ खर्ब ५२ अर्ब रुपैयाँ स्वदेशी मुद्रामा लगानी भएको संघको तथ्यांकमा उल्लेख छ ।

यद्यपि उक्त कुल कर्जा साउनपछि ४ अर्बले वृद्धि भएको छ । किनभने गत साउन मसान्तसम्म कुल कर्जा ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्