
१. महाभियोग सिफारिस समितिको बैठकमा जवाफ दिन सर्वोच्च अदालतका न्यायाधीशहरू नजाने, शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायाधीशहरूलाई बयानका लागि बोलाइएको सर्वोच्चको ठहर, स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यता, संवैधानिक प्रावधान र शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा न्यायाधीशहरू बैठकमा उपस्थित हुन नसक्ने फूल कोर्टको निष्कर्ष ।
२. संसद्को कार्यकाल सकिँदैमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय नहुने पूर्वन्यायाधीश फोरमको धारणा, निर्वाचनपछि गठन हुने नयाँ प्रतिनिधिसभाले महाअभियोगलाई स्वीकार गरेर जबरा दोषी हो वा निर्दोष हो भन्ने टुंगो गर्नुपर्नेमा जोड, महाअभियोग टुंगो नलाग्दै संसद्को कार्यकाल सकिने भएपछि जबरामाथि लागेको अभियोग के हुन्छ भन्ने अन्योल ।
३. देशको ७५ जिल्लामा फैलिएको डेंगु संक्रमणले झनै भयावह रुपमा लियो, बुधबारसम्ममा देशभर ११ हजार ६५ जना डेंगुका बिरामी, देशभर डेंगु फैलिसकेपछि कुन सेरोटाइपिङले गर्दा फैलिएको हो भन्ने यकिन गर्न सरकारले अनुसन्धान थाल्यो ।
४. नेपाल लगानीमैत्री देशका रुपमा स्थापित भएको विदेशी लगानीकर्ताको धारणा, दिगो लगानी पूर्वाधार फोरम–२०२२ मा सहभागी विदेशी लगानीकर्ताद्वारा नेपाल लगानीमैत्री देशका रुपमा स्थापित भएको भन्दै प्रसन्नता मात्र व्यक्त, लगानीकर्तालाई सबै प्रकारको सुविधा उपलब्ध गराउँदै विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिवद्धता ।
५. कोभिड कालमा बन्द भएको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने, नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराए लगत्तै चिनियाँ पक्षले रसुवागडी नाका सञ्चालन हुने जानकारी गरायो, तातोपानी नाका खुल्नेबारे अझै अन्योल कायमै ।
६. राष्ट्रपति विद्यादेवी भण्डारी र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच शिष्टाचार भेटवार्ता, द्विपक्षीय हितका विविध विषयमा कुराकानी, दुई देशबीच हुने उच्चस्तरीय भेटवार्ताले सम्बन्ध थप सुदृढ हुने राष्ट्रपतिबाट विश्वास व्यक्त ।
७. नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारका लागि चार मापदण्ड तय गर्यो, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरू समानुपातिकतर्फ उम्मेदवार बन्न नपाउने, २०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरू समानुपातिकबाटै उम्मेदवार बन्न रोक ।
८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि, नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले उकालो लागेर १ हजार ९ सय ८१ दशमलव ४८ अङ्क कायम, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव १९ अङ्कले वृद्धि भई ३ सय ८५ दशमलव ३६ पुग्यो ।
९. नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको प्रतिस्पर्धामा सेमिफाइनलको समीकरण पूरा, समूह चरणको अन्तिम खेलमा बुधबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १३ रनले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भयो, सेमिफाइनलको पहिलो खेलमा आर्मी र सुदूरपश्चिम तथा दोस्रो सेमिफाइनलमा पुलिस र एनआरएनएबीच प्रतिस्पर्धा हुने ।
१०. सीमा क्षेत्रमा हालै भएको झडपमा मारिएका १०० अर्मेनियाली सैनिकको शव अजरबैजानले फिर्ता पठाउने, युद्धविराम आह्वान गरिएकाले एकतर्फी रूपमा १०० सैनिकको शव आर्मेनियालाई हस्तान्तरण गर्ने अजरबैजानको निर्णय, अजरबैजानको भूमि नागोर्नो–काराबाखलाई लिएर दुई देशबीच दशकौँदेखि द्वन्द्व जारी ।












