Logo
Logo

प्रहरीमा कांग्रेसीकरण



काठमाडौं । चुनावको मुखमा नेपाल प्रहरीमा तिव्र रुपमा राजनीतिकरण हुन थालेको छ । सत्तारुढ दलका नेताहरूले छानीछानी आफुनिकट प्रहरीलाई आफ्नो जिल्ला तथा क्षेत्रमा लैजान थालेका छन् ।

कांग्रेस नेताहरूकै दबाबमा हालै तीन जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । पूर्वीनवलपरासी, गुल्मी र प्यूठानमा राजनीतिक दबाबका कारण प्रहरी प्रमुख हेरफेर गरिएको छ ।

आइतबार मात्र गुल्मीका एसपीलाई हटाइएको छ । इमान्दारीताका साथ काम गरिरहेका एसपी भिम दाहाललाई सात महिनामै हटाइएको छ । कांग्रेस नेताहरूको अनुचित दबाब नमानी कानूनअनुसार काम गर्दा उनलाई हटाइएको स्रोत बताउँछ । गुल्मीमा कार्यक्षमतामा कमजोर एसपी अर्जुन रानाभाटलाई पठाइएको छ ।

त्यस्तै, प्यूठानका डिएसपी सत्यनारायण थापालाई पनि १० महिनामै हटाइएको छ । कांग्रेस नेताहरूकै स्वार्थअनुसार काम नगर्दा उनको सरुवा भएको स्रोत बताउँछ । जहाँ प्यूठानका कांग्रेस नेताहरूकै सेटिङमा सुवास खड्कालाई लगिएको छ ।

दुई साताअघि राजनीतिक दबाबकै आधारमा पूर्वीनवलपरासीका एसपी हेरफेर गरिएको छ । एसपी प्रज्वल महर्जनलाई हटाएर भुवनेश्वर तिवारीलाई त्यहाँ खटाइएको छ । कांग्रेस नेताहरूकै दबाबमा महर्जनलाई हटाइएको स्रोत बताउँछ ।

यसरी चुनावको मुखमा सत्तारुढ दलका नेताको सिफारिसअनुसार प्रहरी हेरफेर हुन थालेपछि आगामी निर्वाचन निष्पक्ष हुनेमा प्रश्न उड्न थालेको छ । प्रहरी नेतृत्वले गलत दबाब रोक्न नसक्दा प्रहरीमा कांग्रेसीकरण बढेको छ ।

जबकी, नियमित सरुवा हुनुपर्ने जिल्लामा भने हेरफेर गरिएको छैन । बाँके, सुर्खेतमा १५ महिना हुँदा पनि एसपीको सरुवा भएको छैन । त्यहाँका एसपीले कांग्रेस नेताहरूलाई खुशी बनाएकाले सरुवा रोकिएको स्रोतको दाबी छ ।

चुनावको मुखमा प्रहरीमा धमाधम काज सरुवा भइरहेको छ । नेताहरूले आफुनिकट प्रहरीलाई आफ्नो निर्वाचन क्षेत्रमा खटाउन यसरी काज गराइरहेका छन् । यस्तो चलखेल थाहा पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत दुई साताअघि प्रहरीलाई निष्पक्षताका साथ काम गर्न चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्