Logo
Logo

बाँडफाँटको निर्णायक वार्तामा पाँच दलीय सत्ता गठबन्धन



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा निर्णायक वार्तामा जुटेका छन् ।

बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिन आज बिहानदेखि निर्णायक वार्ता जारी राखेको छ ।

निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको कार्यदलका सदस्य सचिव केशवराज जोशीले राससलाई जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ ।

यसका लागि अब दुई दिनमात्र बाँकी रहेकाले पनि आजै बाँडफाँट टुङ्ग्याउन लागिएको उनले बताए । गठबन्धनको बैठक जारी रहेकाले आज बस्ने भनिएको सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसक कार्यसम्पादन समितिको बैठक अझै सुरु हुन सकेको छैन ।

सत्ता गठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्