काठमाडौं । सत्ता गठबन्धनबाट बाहिरिएपछि जनता समाजवादी पार्टी (जसपा) नेकपा एमालेसँग चुनावी तालमेलको अन्तिम प्रयास गरिरहेको छ । गठबन्धनमा सिट भागबन्डा नमिलेपछि बाहिरिएको जसपाले एमालेसँग बार्गेनिङ सुरु गरेको हो ।

एमालेले जसपाले मागेअनुसार सिट दिन तयार छैनन् किनकि एमाले अध्यक्ष केपी शर्मा ओलीले केही नेतालाई उम्मेदवार बनाउने बचन दिइसकेका छन् । तर, जसपाले पनि त्यो क्षेत्र दावी गर्दै आएको छ ।
जसपा नेताहरुले एमालेसँग गठबन्धन गर्दा आफूहरुले प्रतिनिधिसभाका २४ सिट पाउनुपर्ने बताइरहेका छन् । जसपाले मधेस प्रदेशमा १६ र अरु प्रदेशमा ८ सिट रहेको दावी गर्दै आएको छ । तर, एमालेले जसपालाई २१ वा २२ सिटसम्म दिन तयार छ ।
एमाले र जसपाबीच शुक्रबार पनि तालमेलबारे छलफल हुँदैछ । तर तीन क्षेत्रमा कुरा नमिल्दा सहमति हुन सकिरहेको छैन । नेताहरुका अनुसार बारा–२ मा दुवै दलको दाबी छ ।
बारा–२ मा एमाले अध्यक्ष ओलीले माओवादी छाडेर आएकी ज्वाला साहलाई चुनाव लडाउन चाहेका छन् । तर, यो क्षेत्र जसपाले पनि दाबी गर्दै आएको छ । अध्यक्ष उपेन्द्र यादवले बारा–२ रामसहाय यादवलाई चुनाव लडाउन चाहन्छन् । यहाँका निवर्तमान संसदसमेत रहेका यादव उपेन्द्रको विश्वासपात्र हुन् । त्यसैले उनी यो क्षेत्र एमालेलाई छाड्न चाहदैनन् ।
यस्तै, धनुषा–२ मा पनि दुवै दलको दाबी छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर आएका उमाशंकर अरगरियालाई टिकट दिने बचन दिइसकेको छ । तर, जसपाले पनि यो क्षेत्र आफ्नो पकडमा रहेको भन्दै दाबी गरेको छ ।
यस्तै, बाँके २ मा पनि एमाले र जसपा दुवैले दावी गरेका छन् । एमाले अध्यक्ष ओलीले यो क्षेत्रमा राप्रपाका महामन्त्री धवलशमशेर राणालाई सघाउने बचन दिइसकेको छ । तर, जसपाका यही क्षेत्रमा मो. ईस्तियाक राईलाई चुनाव लडाउन चाहन्छ । जो निवर्तमान सांसद र बहालवाला मन्त्रीसमेत हुन् ।
एमाले र जसपाबीच चुनावी तालमेलको सहमति यि तीन क्षेत्रले अड्किएको छ । एमालेका एक नेताका अनुसार प्रदेशमा पनि केही क्षेत्रमा सहमति हुन बाँकी छ । तर, ती क्षेत्रमा पनि सम्भवत आजै सहमति जुट्ने उनको भनाइ छ ।
जसपासँग वार्तामा संलग्न एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि आफूहरु सहमतिनजिक रहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी सहमित नजिक छौँ, केही क्षेत्रमा सहमति हुन बाँकी छ, त्यसबारे छपलफल जारी रहेकाले चाँडै सहमतिमा पुग्छौँ ।’











