काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको समन्वयमा जिल्ला अदालत बार एशोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताहरुलाई एकदिने तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।

कार्यक्रम नेपाल हाउस रेष्टुरेन्ट, हात्तीसार, काठमाडौंमा २०७९ असोज २८ गते शुक्रबार सम्पन्न भएको हो । धितोपत्र बजारमा लगानी गर्दा हुने जोखिम व्यवस्थापनको विषय तथा धितोपत्र बजारमा संलग्न विभिन्न पक्षले पालना गनुपर्ने नितीनियमप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सेक्युरिटी रिस्क मेनेजमेन्ट एन्ड लिगल इस्युजबारे क्यापिटलले यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
यो विश्व लगानीकर्ता सप्ताह इन्टरनेशनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसनको आह्वानमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा सेयर लगानीसम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।
कार्यक्रमको सभापतित्व जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल (आरसी बिमल)ले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिमा प्रभु क्यापिटलका बोर्ड डाइरेक्टर डा. भरतसिंह थापा थिए ।
तालिममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गानन्द झा तथा विज्ञ प्रशिक्षकको रुपमा धितोपत्र बोर्डका कानुनी विभागका एक्टिङ डाइरेक्टर राजाराम दुवालले प्रदान गरेका थिए ।
कार्यक्रममा एशोसिएसनका उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिव उज्वलराम श्रेष्ठ, कोषाध्यक्ष सन्तोष भण्डारीलगायत कार्यसमिति सदस्यहरुसमेत गरी करिब ६० जनाको सहभागिता भएको उक्त कार्यक्रममा काजिअ बारका अध्यक्ष रामचन्द्र पौडेलले वर्तमान सेयर बजारमा धेरै लगानीकर्ताहरुको प्रवेश भएको र सबैमा शेयर बजारसम्बन्धी सचेतना पर्याप्त नभएको अवस्थामा सेयर बजारबाट हुनसक्ने नोक्सानी र कानुनी प्रावधानलाई सचेतना अभिवृद्धि गर्दै लगानीको सही सदुपयोग गर्नुपर्ने विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।
सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले सेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आइरहेको छ ।












