
लमजुङ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दल र उम्मेदवार आन्तरिक जोडघटाउ र प्रचारप्रसारमा ब्यस्त हुन थालेका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले प्रतिष्पर्धा गर्दैछन् ।
प्रदेश ‘क’ मा नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ र एमाले लमजुङका पूर्वअध्यक्ष जमिन्द्रमान घलेबीच प्रतिष्पर्धा हुँदैछ भने प्रदेश ख मा कांग्रेसका पूर्वसभापति भेषबहादुर पौडेल र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीबीच प्रतिष्पर्धा हुनेछ ।
संघीय निर्वाचन र प्रदेश ख मा दुई उम्मेद्वारबीच पहिलोपटक प्रतिष्पर्धा हुन लागेको हो भने प्रदेश क का उम्मेद्वारद्वय घले र गुरुङ बीच अहिले दोस्रोपटक प्रतिष्पर्धा हुन लागेको हो । दुई उम्मेद्वारबीच भएको दोस्रोपटकको प्रतिष्पर्धालाई लमजुङका नागरिकले निकै चासोको रुपमा हेरिरहेका छन् ।
२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा ८ सय ९२ को झिनो मतान्तरले बिजयी भएका घलेलाई मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा निर्वाचन भने भारी हुनसक्ने आँकलन छ । २०७९ मा भएको स्थानीय तह निर्वाचनको वडागत मतपरिणामले लमजुङमा लोकतान्त्रिक–बाम गठबन्धनमा अगाडि रहेको देखाउँछ भने प्रदेशसभा ‘क’ मा गठबन्धनको मत धेरै अगाडि देखिन्छ ।
कुल ३६ वटा वडा रहेको लमजुङ प्रदेश सभा ‘क’ मा काँग्रेस र माओवादीका केही स्वतन्त्र उम्मेद्वारको मत समेत गन्दा गठबन्धनले पाएको मत २१ हजार ३०९ रहेको छ भने नेकपा एमालेबाट उठेका वडाअध्यक्षहरुको मत १८ हजार ४४६ रहेको छ । वडाअध्यक्षले पाएको मतको आधारमा गठबन्धन २ हजार ८ सय ६३ मतले अगाडि छ ।
त्यस्तै पालिका ४ वटा पालिकाका प्रमुखको मतलाई आधारमान्दा पनि गठबन्धनको १७ हजार ९११ मत छ भने एमालेको १७ हजार १३६ मत रहेको छ । यसलाई आधार मान्दा गठबन्धन ७७५ मतले अगाडि देखिन्छ ।











