चितवन । पूर्व सांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ ।
नेपाली कांग्रेसकी नेता श्रेष्ठको गएराति चितवन मेडिकल कलेजमा मृत्यु भएको उनका धर्मछोरा टंकनाथ पौडेलले जानकारी दिए । श्रेष्ठको शवलाई बिहान ९ः३० देखि १० बजेसम्म कांग्रेस चितवनको पार्टी कार्यालयमा र १० बजेपछि केहीबेर उनले नै स्थापना गरेको मैयादेवी कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ ।
त्यसपछि अन्त्येष्टिका लागि देवघाट लगिने उनले जानकारी दिए । दानवीरका रुपमा चिनिएकी मैयादेवी श्रेष्ठ मैयादेवी कन्या कलेज भरतपुरको संस्थापक संरक्षकसमेत हुन् । अविवाहित श्रेष्ठले धर्मछोरा तथा विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका संघसंस्थालाई आार्थिक तथा जग्गा दान गरेकी थिइन् ।
काठमाडौं रविभवनमा रहेको नेपाल तरूण दलको केन्द्रीय कार्यालय मैयादेवी श्रेष्ठले दिएकी हुन् । कांग्रेसको चितवन जिल्ला कार्यालय पनि मैयादेवीले नै दान गरेकी हुन् । लामो समय महिला संघको चितवन अध्यक्ष रहेकी उनी ०४८ सालमा गोरखा–२ बाट सांसद निर्वाचित भइन् ।
२०५६ सालमा राष्ट्रिय सभामा मनोनित भइन् । ०६२/०६३ को जनआन्दोलनपछि पुर्नस्थापित संसदमा पनि उनी सांसद थिइन् ।











