Logo
Logo

घरदैलोमा उम्मेदवार, स्थानीयवासीलाई धान काट्ने चटारो


189
Shares

महेन्द्रनगर । दोधारा चादँनी नगरपालिका–१० का दिलबहादुर सुनारले गत वर्ष बेमौसमी बाढी आउँदा धान बाली समेट्न नपाउँदा जेनतेन गुजारा गरे ।

यसवर्ष पनि वर्षाले कतै फेरि जोगबुढाको बाढी पसेर धानबाली नोक्सान गर्छ की भन्ने पिरलोमा रहेका दिलबहादुर धान समेट्दै गर्दा खेतमा भेटिए ।

पाँच कठ्ठामा लगाएको धान कटाउन छिमेकीलाई समेत सहारा मागिरहनुभएका दिलबहादुर जस्तै अहिले कञ्चनपुरका अधिकांश किसानलाई धान समेट्ने चटारो छ ।

स्थानीय कौशीलादेवी सुनारले कुतियाकवर बस्ती कटान समस्याबाट मुक्त हुन नसकेको बताए । ‘यहाँ खेतीयोग्य जमिन बर्सेनि जोगबुढा नदीले कटान गर्दै बस्ती समेत जोखिममा छ’, उनले भने, ‘‘चुनावका बेला खेतमा मत माग्न पुग्नु भन्दा कटान नियन्त्रणमा लागि पहल गरिदिनु पर्यो ।’

‘बिहान नै नास्ता खाएर धान काट्न परिवार नै खेतबारीतिर लाग्नु दैनिकी बनेको छ’, दोधारा चादँनी–४ का जग्गे सुनारले भने, ‘पोहोर साल धान क्षति हुँदा दीर्घकालीन सहयोग हुने खालका प्याकेज दिने आश्वासनमै बित्यो ।’

५४ वर्षीय सुनार अहिले बस्तीमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवार घरदैलोमा आउँदा कुनै उमङ्ग नभएको बताउँछन् ।

‘किसानलाई धान समेट्न भ्याइनभ्याइ छ, नेताहरु घरदैलोमा पुगिरहेका छन्’, उनले भने, ‘कतिपय नेता खेतमै मत माग्दै पुगिरहेका पनि छन् ।’

उनले किसानलाई जनप्रतिनिधि भएर जानेहरुले कुनै सुविधा दिने चासो नै नदेखाएको गुनासो गरे । ‘खेती गर्दा न मल पाउँछ नत बालीको उचित मूल्य नै’, उनले भने, ‘सरकारले दिने अनुदान पनि पहुँच भएकाले पाउने त होलान् ।’

कञ्चनपुरमा दल र स्वतन्त्र व्यक्तिले चुनावी घरदैलो अभियानलाई तीव्रता बनाएका बेला यहाँका तीन वटै प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा भने किसान धान काट्न र भित्र्याउन सक्रिय रहेका छन् ।

‘केही दिनअघि त महेन्द्रनगरमा एक जना उम्मेदवारले त धान काट्न सहयोग गरिरहेको फोटो पनि हामीले सामाजिक सञ्जालमा हेयौँ ।’

यहाँको शुक्लाफाँटा नगरपालिका–५ का वीरेन्द्र जोशीले बताए । उनले भने, चुनावका बेला मतदाता रिझाउन अनेक प्रपञ्च गरिँदो रहेछ ।’

उनले चुनावका बेला रिझाउन आउने भन्दा पनि कृषि, शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासमा पहल गर्ने प्रतिनिधि छनोट जनताले गर्ने बताए । ‘हामी किसान अब चुनावको बेलाका आश्वासन सुनेर हुरुक्क हुने स्थिति छैन्’, उनले भने, ‘कृषिप्रधान मुलुकमा मल र उत्पादन गरेको बस्तुको भाउ नपाउने अवस्था कहाँबाट सिर्जना भयो ?’

प्रतिक्रिया दिनुहोस्