काठमाडौं । पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीले आफू सभामुख हुँदा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दावी गरेकी छन् ।

तिहार पर्वका अवसरमा काठमाण्डौको शंखरापुर नगरपालिका–३ जहरसिंहपौवामा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा नेत्री घर्तीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘म सभामुख भएको मान्छे हुँ । दुई वर्ष सभामुख हुँदा सुशासनको मामिलामा देशलाई घात गर्ने काम गरेको वा एक रुपैयाँ भ्रष्टाचार गरेको कसैले पुष्टि गर्न सकोस्, म राजनीतिबाटै सन्न्यास लिन्छु ।’
आफू सभामुख पदमा रहँदा सुशासनका पक्षमा दृढतापूर्वक उभिएको भन्दै उनले आफ्नो कामबारे सञ्चारमाध्यममा त्यति बेला प्रकाशित र प्रसारित समाचार खोजेर हेर्न आग्रह पनि गरिन् । नेत्री घर्तीले देशमा सुशासन र विकासका लागि कानुन बनाउन सत्तारूढ गठबन्धनका तर्फबाट आफूले काठमाडौँ–२ मा उम्मेदवारी दिएको बताउँदै सुशासन र विकास आफ्नो प्रमुख चुनावी एजेन्डा रहेको बताइन् ।
घर्तीले प्रतिनिधि सभामा निर्वाचित भएपछि आफ्नो प्रमुख ध्यान भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नु हुने उल्लेख गरिन् । जनताको विकास र समृद्धिको सपना नै आफ्नो सपना भएको उनको भनाइ थियो । घर्तीले जीर्ण अवस्थामा रहेको चाबहिल–मूलपानी–साँखु सडक निर्माणको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने र मध्यपहाडी लोकमार्गसँग जोड्ने प्रतिबद्धता पनि जनाइन् ।
यस्तै काठमाडौं–२ लाई पर्यटकीय हबका रूपमा विकास गर्ने, कृषि पर्यटनको विकासका लागि पूर्वाधारमा जोड दिने, युवाले स्वदेशमै रोजगारी पाउने र गाउँको खाना, संस्कार, संस्कृति र रितिरिवाजको रक्षा गर्ने आफ्नो सपना रहेको उनले बताइन् । घर्तीले आफू देशको सभामुख जस्तो सम्मानित जिम्मेवारीमा रहिसकेका कारण चुनाव प्रचारका क्रममा कसैप्रति पनि तुच्छ र तल्लोस्तरको आलोचना गर्ने पक्षमा नरहेको बताइन् ।











