काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनमा भोजपुरमा नेकपा एमालेका शेरधन राई र नेकपा माओवादी केन्द्रका सुदन किरातीबीच प्रतिस्पर्धा हुँदैछ । तर, सुदनसँग प्रतिस्पर्धा गर्न यस पटक शेरधनलाई सहज भने छैन ।
अघिल्लो निर्वाचनमा शेरधन प्रदेशसभातर्फ जित हासिल गरेका थिए भने सुदन प्रतिनिधिसभा सदस्यमा निर्वाचिन भएका थिए । तर, यसपटक शेरधनले सुदनसँग प्रतिनिधिसभा सदस्यमै प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका सुदन कांग्रेस, एकीकृत समाजवादीलगायत पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । तर, एमालेका उम्मेदवार शेरधन सिंगल लड्दैछन् । यस आधारमा पनि भोजपुरको चुनावी प्रतिस्पर्धामा एमालेका शेरधनलाई चुनाव जित्न चुनौती बनेको छ ।
साथै, स्थानीय तह निर्वाचनको परिणामले हेर्दा पनि सुदन शेरधनभन्दा अगाडि देखिन्छन् । स्थानीय तह निर्वाचन मा भोजपुरका वडाध्यक्षहरूमा एमालेले कुल २७ हजार ६५६ मत पाएको थियो भने सत्ता गठबन्धनले वडाध्यक्षहरूमा पाएको ३८ हजार ५५६ मत पाएको थियो ।
भोजपुरमा सुदन र शेरधनबीच यो दोस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि २०६४ को निर्वाचनमा सुदनले शेरधनलाई पराजित गरेका थिए भने २०७० मा शेरधनले सुदनलाई ।
तर, २०७४ को निर्वाचनमा सुदन प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने शेरधन प्रदेशसभा सदस्यमा विजयी बनेका थिए । प्रदेशसभा सदस्यमा निर्वाचिन भएपछि शेरधन प्रदेश १ को मुख्यमन्त्री बन्ने अवसर पाए । तर, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा शेरधनलाई गठबन्धनका कारण चुनाव जित्न सहज छैन ।











