काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण खेलका लागि नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
पाकिस्तानविरुद्ध कात्तिक ३० गते हुने मैत्रीपूर्ण खेलका लागि एन्फाले सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन टोली मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई मंगलबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो । कटुवालको नेतृत्वमा मछिन्द्रले लगातार दुई पटक ए डिभिजन लिगको उपाधि जितेको थियो ।

यसअघि बंगलादेशविरुद्ध गत असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा प्रदीप हुमागाई राष्ट्रिय टोलीको कार्यवहाक मुख्य प्रशिक्षक थिए । हुमागाईलाई कार्यवहाक प्रशिक्षक नियुक्त गरेमा एन्फाले आलोचना पनि खप्नु परेको थियो । यद्दपी नेपालले बंगलादेशलाई ३–० ले हराएको थियो । जसमा अन्जन विष्टले ह्याट्रिक गरेका थिए ।
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि महिना दिन भन्दा लामो समय अभ्यास गरेको नेपाली टोलीले पाकिस्तानविरुद्धको खेलका लागि तयारी गरेको छैन । एन्फाले मंगलबार नै नेपाल र पाकिस्तानको राष्ट्रिय टोलीबीच कात्तिक ३० गते मैत्रीपूर्ण खेल हुने तय भएको जनाएको छ । पाकिस्तानको पुरुष फुटबल टोली आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो ।












