काठमाडौं । नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेका पक्षमा आठ जना अधिवक्ताहरूले बहस गर्दै छन् ।

सन्दीपको मुद्दामा आज पनि थुनछेक बहस चलिरहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भइरहेको बहसमा सन्दीपको पक्षबाट पाँच वरिष्ठ अधिवक्ता र तीन अधिवक्ताले बहस गर्दैछन् ।
सन्दीपको पक्षमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, लभ मैनाली, कृष्ण सापकोटा, सरिता भण्डारी र रमन श्रेष्ठले बहस गर्दैछन् । पूर्वमहान्यायाधिवक्ता श्रेष्ठपछि सन्दीपको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता थापा पनि थपिएका हुन् । दुई दिनअघि मात्रै श्रेष्ठ सन्दीपको पक्षमा जोडिएका थिए ।
त्यस्तै अधिवक्ता मुरारी सापकोटा, सरोज घिमिरे र रोशनी पौड्यालले पनि सन्दीपको पक्षमा बहस गर्दै छन् ।
यसअघि थुनछेक बहसको पहिलो दिन बुधबार जाहेरवालाको तर्फबाट ७ जना र सन्दीपको पक्षबाट २ जनाले बहस गरेका थिए । बुधबार सन्दीपको पक्षबाट सापकोटा र मैनालीले बहस गरेका थिए ।
मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश घिमिरेको इजलासमा बयान सकिएपछि आजदेखि बुधबार थुनछेक बहस सुरु गरिएको थियो । बहस आज पनि चलिरहेको छ । बहस सकिएपछि अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश दिनेछ ।
गत २१ भदौमा गौशाला प्रहरी वृत्तमा एक किशोरीले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएका थिए ।
क्रिकेटर देव खनालमार्फत चिनजान भई सामाजिक सञ्जालमा जोडिएपछि सन्दीपले ५ भदौमा कफी पिउन बोलाई त्यहीँबाट जबर्जस्ती नगरकोट लगेर मध्यराति काठमाडौं ल्याई गौशालास्थित काठमाडौं इन होटलमा सोही रात पटकपटक जबर्जस्ती करणी गरेको आरोप ती किशोरीको आरोप छ ।
२१ भदौमा प्रहरीले सन्दीपलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । गत सोमबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा सन्दीपविरुद्ध अभियोगपत्र दायर गरेको थियो ।












