Logo
Logo

वित्तिय संस्थाबाट पीडित भएको भन्दै उद्योगीद्वारा प्रदर्शन


378
Shares

काठमाडौं । उद्योगी तथा व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाबाट पीडित भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । काठमाडौं उद्योग वाणिज्य संघ तथा काठ क्षेत्रका उद्योग नगर संघको आयोजनामा शुक्रबार माइतीघर मण्डलामा उनीहरुले मौन प्रदर्शन गरेका छन् । उनीहरुले बैंकले ब्याजदर प्रिमियम, चालु पूँजी निर्देशिकालगायतका नीतिको विरोध गरेका छन् ।

उद्योगी तथा व्यवसायीले विभिन्न ५ वटा माग अगाडि सारेका छन् । निक्षेपमा ब्याजदर बढाउँदैमा निक्षेप नबढेको भन्दै उद्योगका लागि एक अंकमा बढी नहुने र व्यापारमा १/२ प्रतिशत मात्र थप गरी लिन पाइनेगरी लगानी योग्य पूँजीको शीघ्र व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।

बैंकहरुको खर्च न्यून गरी स्प्रेड दर ३ भित्र रही जोखिमका आधारमा बढीमा २ प्रतिशतमात्रै थप प्रिमियम लिन पाइने व्यवस्था गर्नुपर्ने पनि उनीहरुको माग छ ।

धर्ना कार्यक्रममा प्रदर्शनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षत्रय अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाइ पनि सहभागी थिए ।

साथै, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याच्यो, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धरलगायत विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारीहरु पनि धर्नामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्