काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तिय कम्पनीहरुबिरुद्धको आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ । देशका विभिन्न स्थानमा भइरहेको बैंकविरुद्धको आन्दोलन चुनावसम्म रोक्न संघले आह्वान गरेको हो ।

अहिले देशभरका जिल्ला/नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुले विभिन्न माग राख्दै बैंकविरुद्ध आन्दोलन गरिरहेका छन् । यी मागमा ऐक्यबद्धता जनाउँदै महासंघले निर्वाचनसम्म सबै आन्दोलनका कार्यक्रम रोक्न आह्वान गरेको हो ।
तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक समक्ष माग गरेको छ ।
तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यबद्धता जाहेर गरेको समेत महासंघले जनाएको छ ।
तर, आगामी ४ मंसिरमा प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गइरहेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको महासंघले उल्लेख गरेको छ । सोहीकारण हाल सञ्चालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको जनाएको छ ।












