काठमाडौं । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा प्रभावकारी बन्दै गएको छ । यो सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ ।

ग्रुप एसएमएस सेवाअन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रतिसन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्ने छ । टेलिकमका अनुसार यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र १० हजारवटा मोबाइल नम्बरमा एकैपटक वा पटक–पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा २ हजार सन्देश पठाउन सकिने प्याकअन्तर्गत रु एक हजार,करबाहेकमा दुई दिनभित्रमा दुई हजार सन्देश पठाउन सकिने छ ।
यसैगरी पाँच हजार सन्देश पठाउन सकिने प्याकअन्तर्गत जम्मा रु २ हजार पाँच सय (करबाहेक) मा ५ दिनभित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ । यसका साथै १० हजारवटा सन्देश पठाउन सकिने प्याकअन्तर्गत जम्मा रु पाँच हजार (करबाहेक)मा १० दिनभित्रमा जम्मा १० हजारवटा सन्देश पठाउन सकिन्छ भने यस अफरमा टेलिकमको नेटवर्कभित्र मात्र सन्देश पठाउन सकिन्छ ।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा टेलिकमको सिमकार्ड हुनुपर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मोवार हुनुपर्नेछ । यो सेवा प्रयोग गर्नका लागि https://groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।












