काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ चुनाव जित्ने आत्मविश्वासहित चुनावी मैदानमा छन् । उनी काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका जीवनरामले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नवीन्द्रराज जोशलाई पराजित गरेका गरेका थिए । त्यतिबेला एमाले र माओवादीको गठबन्धन थियो ।
यसपटक कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट उनी साझा उम्मेदवार छन् । एमालेबाट शिवसुन्दर राजवैद्य उनका प्रतिस्पर्धी छन् । तर, कांग्रेस र माओवादीसहितको गठबन्धनको समर्थनले गर्दा आफूले चुनाव जित्नेमा जीवनराम ढुक्क छन् ।
काठमाडौं–८ मा उनी पराजित भए संघीय संसदमा देशको राजधानी शहरबाट एकीकृत समाजवादीको प्रतिनिधित्व हुँदैन । यसकारण पनि उनले आफ्नो जितलाई पार्टीकै अस्तित्वसँग जोडेर प्रचारप्रसार गरिरहेका छन् ।
गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा यो क्षेत्रमा एकीकृत समाजवादी तेस्रो दल हो । सत्ता गठबन्धन भएकाले एकीकृत समाजवादीलाई पहिलो दल नेपाली कांग्रेसको साथ छ ।
स्थानीय तह निर्वाचनमा वडाअधयक्षहरुले यो क्षेत्रमा कांग्रेसले १० हजार ८७२, एमालेले ९ हजार २५३, एकीकृत समाजवादीले ५ हजार १४२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ हजार १६०, स्वतन्त्रले एक हजार ३७, नेकपा (माओवादी केन्द्र)ले १८९ मत पाएका छन् ।
यस्तै, ४ मंसिरमा हुने निर्वाचनमा गठबन्धनका अनुसार कांग्रेसको शतप्रतिशत पाउने र एमालेकै मत पनि जीवनरामले तान्नेछन् । त्यसो हुँदा जीवनरामको जीत पक्कका देखिन्छ । अहिले प्रचार अभियान पनि त्यहीअनुरुप चलाएका छन् ।
जीवनरामका लागि कांग्रेस नेता स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारीले चुनावी अभियान नै चलाएका छन् । जुन मत जीवनरामका लागि हो भने राजभण्डारी पनि कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवार छन् ।
संविधान र लोकतन्त्र जोगाउनुका लागि भएपनि वाम–लोकतान्त्रिक गठबन्धन बनेको कुरा मतदाताले बुझेकाले गठबन्धनको जित निश्चितप्रायः भएको जीवनराम दावी गर्दै आएका छन् । स्थानीय तहका गठबन्धनले पाएको मतका आधारमा पनि आफ्नो जीत सुनिश्चत रहेको उनको भनाइ छ ।












