
काठमाडौं । हेभिवेट नेताबीचको प्रतिस्पर्धाले स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर–२ गर्माएको छ । उक्त क्षेत्रमा एमालेबाट सचिव पद्मा अर्याल र सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच प्रतिस्पर्धा हुँदैछ ।
गण्डकी प्रदेशमा एमालेबाट लड्ने हेभिवेटमध्येकी एक हुन् पद्मा । यता गुरुङ पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उठेका हुन् ।पद्माले अघिल्लोपटक ०७४ मा कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् ।
तर पद्मासामु यसपटक बहालवाला उपसभापति नै प्रतिष्पर्धामा छन् । स्याङजा क्षेत्र नं.२ लाई गठबन्धन र एमालेले प्रतिष्ठाको विषय नै बनाएको छ ।
केपी ओली नेतृत्पको सरकारका पालामा लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटिएको नेपालको अद्यावधिक नक्सा जारी गरेर चर्चित बनेकी पद्मा अहिले त्यहि चुच्चे नक्सा लिएर घरदैलो कार्यक्रममा निस्किएकी छन् ।
आफू मन्त्री हुँदा नै त्यो सम्भव भएको भनेर उनले मतदातालाई बुझाउँदै आएकी छन् । वाम गठबन्धनको समर्थनमा गोपालमान श्रेष्ठलाई हराएपछि नै संसदीय र पार्टी राजनीतिमा उचाइ बनाएकी पद्मा यसपटक पुन संसद पुग्न चाहन्छिन् । तर, यसपटक उनलाई जित्न सजिलो छैन ।
उनको सामू पाँच दलीय सत्ता गठबन्धन छ भने संसदीय निर्वाचनमा प्रत्यक्ष चुनाव लड्ने नयाँ उम्मेदवारको रुपमा धनराज अगाडि छन् ।
स्याङ्जा क्षेत्र नम्बर २ मा चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिकाको वडा नम्बर १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४ पर्छ भने भिरकोट नगरपालिकाको ५, ६, ७, ८ र ९ वडा तथा कालिगण्डकी गाउँपालिका पर्छन् ।
गत वैशाखमा भएको स्थानीय चुनावको मत हेर्दा स्याङ्जा २ मा नेपाली कांग्रेस अगाडि छ । नेपाली कांग्रेसका वडाध्यक्ष उमेदवारहरूले ३६ हजार ८ सय ६ मत ल्याएका छन् भने यहाँ नेकपा एमालेका वडाध्यक्षहरूले पाएको मत ३४ हजार ८ सय ९ मत छ ।
नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरूले १ हजार ४४७ मत ल्याएका छन् । राप्रपाले ५११, एकीकृत समाजवादीले २३३ मत ल्याएका छन् । स्याङ्जा–२ मा नेकपा (एकीकृत समाजवादी) को मत खासै छैन ।
सत्ता गठबन्धनमा रहेका कांग्रेस–माओवादीको मत ३८ हजार २ सय ५३ हुन्छ भने यहाँ अर्को मुख्य प्रतिस्पर्धी नेकपा एमालेको मत ३४ हजार ८ सय ९ हुन्छ ।
सत्ता गठबन्धन र एमालेबीच स्थानीय चुनावको मत हेर्दा चार हजार बढी मतान्तर देखिन्छ । यो अंकगणितलाई ख्याल गर्दा पनि सो क्षेत्रमा सत्ता गठबन्धन अगाडि देखिन्छ ।












