Logo
Logo

फ्री भिसा, फ्री टिकटमा आरजु राणालाई विवादमा ल्याउने म्यानपावर ब्यवसायी को हुन् ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणाले ३० वैशाख ०७९ मा डडेल्धुरा पुगेर कांग्रेसलाई भोट दिने युवाहरूलाई फ्री भिसा फ्री टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रबन्ध मिलाउने आश्वासन दिइन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई भोट माग्दै भनिन्, ‘एक जनाले मलाई केही कोटाको व्यवस्था गरीदिनुभएको छ ।’

आरजुले आश्वासन मात्रै होइन स्थानीय तहको निर्वाचनपछि करिब ४ सय युवालाई मलेसिया पठाइदिइन् । त्यसरी कोटाको व्यवस्था गरीदिने म्यानपावर मालिक हुन्, इन्टरनेशनल मेनपावर रिक्युमेन्टका सञ्चालक वाईवी राई । कामदार छान्न राई आफैं कैलाली र डडेल्धुरा पुगेका थिए ।

त्यही बलमा २३ असोजमा प्रधानमन्त्री देउवाको मनोनयनका लागि डडेल्धुरा पुगेकी आरजुले फेरि उही कुरा भनिन् । ‘युवाको रोजगारीमा अस्ति पनि ४ सयभन्दा बढी फ्री–भिसा, टिकटमा पठायौं, यस्तो स्कीम यहाँ फेरि पनि कसरी ल्याउने भन्ने पहल गर्छौं,’ देउवाको उम्मेदवारी दर्ता गरेपछि उनले थप योजना पनि सुनाइन् ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पनि फ्री भिसा फ्री टिकटको बारेमा गलत सल्लाह दिने वाइबी राई नै हुन् । उनै राईको आश्वासनपछि माधव नेपालले पनि रौतहट पुगेर दिएको अभिब्यक्ति विवादमा परेको थियो । नयाँवानेश्वरस्थित होटल अर्यालका सञ्चालक समेत रहेका राई नेकपा (एस) निकट म्यानपावर व्यवसायीका नेता हुन् । उनी कृष्णकुमार श्रेष्ठ(किसान) श्रम मन्त्री भएको बेला वैदेशिक रोजगार बोर्डको विज्ञ सदस्यका रुपमा नियुक्त भएका छन् ।

नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्व. सुशील कोइरालाको सरकारले २०७२ सालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडीका ६ मुलुक र मलेसिया जाने कामदारका हकमा फ्री भिसा फ्री टिकट लागू गरेको थियो । फ्री भिसा फ्री टिकट अनिवार्य व्यवस्था नै हो । तर उनै राईको योजना र सल्लाहमा नेताहरुले भने फ्री भिसा फ्री टिकटलाई आश्वसन जस्तो बनाएको छ ।

राई निरन्तर सत्ताको आडमा रहेर धन्दा चलाउने व्यवसायी हुन् । नेकपा (एस) निकटका नेता भए पनि कांग्रेसका नेताहरुसँग पनि उनको सम्बन्ध छ । त्यही सम्बन्धको आडमा उनले प्रहरीमा सरुवा बढुवादेखि वैदेशिक रोजगार विभागको महानिर्देशकदेखि कर्मचारीसम्म पनि छानीछानी लैजाने गरेका छन् । विभागका वर्तमान महानिर्देशक उमाकान्त आचार्यलाई पनि आफूले नै लगेको बताउँदै आएका छन् ।

पछिल्लो पटक बालकृष्ण खाँण गृहमन्त्री भएपछि उनले प्रहरीको सरुवा बढुवामा पनि चलखेल गर्ने गरेका छन् । सरुवा बढुवाको समयमा प्रहरीहरु उनको लाइन लाग्ने गरेको बताइन्छ । नेता तथा विभागका कर्मचारीहरुलाई फ्री भिसा फ्री टिकट मिलाई दिएर सर्वसाधरणदेखि भने मोटो रकम उनले उठाउँदै आएका छन् । ‘फ्री भिसा फ्री टिकट’ मा आएका डिमान्डमा समेत एकजनादेखि ७० हजारदेखि २ लाखसम्म अशुल्ने गरेका छन् । उनले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी भएपनि कुनै सुनुवाई नगरिएको पीडितहरुको भनाइ छ ।

त्यतिमात्रै होइन उनले आफ्नो आफन्तको नाममा पारामाउन्ट ओभरसिज नामक अर्को म्यानपावर कम्पनी चलाएका छन् । त्यहाँबाट चाहिँ कामदारबाट महङ्गो पैसा लिएर विदेश पठाइदिने गरेका छन् । त्यो म्यानपावरबाट भने उनले चर्को रकम असुली कामदार बिदेश पठाउने गरेका छन् ।

‘हराउने–जिताउने’ अभियानमा

कुनै बेला एमालेको नेता रहेका राईले पछिल्लो समयमा प्रधानमन्त्री पत्नी राणाको शक्तिको आडमा अकूत पैसा कमाएका छन् । स्रोतका अनुसार उनले होटल अर्यालमा बसेर एमालेका नेताहरु हराउने अभियानको नेतृत्व गरिरहेका छन् । एमाले नेतासँग प्रतिस्पर्धा गरिरहेका गठबन्धनका बिभिन्न नेताहरुलाई चन्दा उठाउने अभियान छ, उनको ।

स्रोतका अनुसार एमालेका नेता तथा झापा क्षेत्र नं.४ का प्रतिनिधिसभाका उम्मेदवार एल पी साँवा लिम्बु, एमाले सचिव तथा गुल्मी क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोकर्ण विष्ट, एमाले वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नं.४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेल र एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराईलाई हराउने भन्दै उनको नेतृत्वमा चन्दा संकलन गरिएको छ । त्यही समूहका एक नेता भन्छन्– ‘उनीहरुको प्रमुख प्रतिद्वन्द्वीलाई सकेसम्म खर्च पठाउने र सकेसम्म अरु अभियान चलाइरहेका छौं ।’

काठमाडौं क्षेत्र नं.४ मा भने राई कांग्रेसका महामन्त्री गगन थापाको विरुद्धमा लागेका छन् । आरजुको धन्दामा सहभागी राई आरजुकै निर्देशन भन्दै गगन हराऊ अभियानमा लागेका छन् । स्रोतका अनुसार त्यसमा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा समूह पनि मिसिएको छ ।

प्रतिक्रिया दिनुहोस्