
बैतडी । बैतडीमा मतपेटिका पुर्याएर फर्किएको प्रहरीको गाडी दुर्घटना हुदा घाइते भएकाहरुको हेलिकाेप्टरमार्फत उद्धार गर्ने भएकाे छ । जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ ।
आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा प्रहरी बोकेको से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर ४ प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।
घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । जिपमा चालकसहित १३ जना सवार थिए ।














