Logo
Logo

एआइजी बढुवाको तयारी



काठमाडौं । चुनावलगत्तै नेपाल प्रहरीमा एआइजी बढुवाको तयारी सुरु भएको छ । प्रहरीमा एआइजीका चार पद रिक्त छन् । नयाँ सरकार बन्न समय लाग्ने भएकाले अहिलेकै सरकारले रिक्त पदमा बढुवा गर्न लागेको हो ।

निर्वाचनको अन्तिम परिणाम आउँदा गठबन्धनबीचकै दलहरु मिलेर सरकार बन्ने÷नबन्ने अहिले प्रष्ट संकेत देखिएको छैन । त्यसकारण पनि सरकार बन्न समय लाग्नेछ । लामो अवधि एआइजी पद रिक्त नराखी बढुवा गर्न लागिएको गृह स्रोतले बताएको छ ।

स्रोतका अनुसार बढुवाका लागि आन्तरिक तयारी भइसकेको छ । रिक्त पदमा बढुवाका लागि एक दर्जन डिआइजी प्रतिस्पर्धामा छन् । सिनियर टिमबाट तीन जना छन् । जसमा नलप्रसाद उपाध्याय, मसउद आलम खाँ र मोहन आचार्य छन् । उनीहरु हाल प्रदेश प्रमुखका रूपमा कार्यरत रहँदा बढुवाकै लागि पैसा कमाउन लागिरहेको रिपोर्ट प्रहरी प्रधान कार्यालयमा आएको स्रोतले बताएको छ । चुनावपछि बढुवा गर्दा आफूहरु नपर्ने सम्भावना भएकाले चुनावअघि नै बढुवाका लागि उनीहरुको दौडधुप थियो, तर प्रयास सफल भएन ।

अब हुने बढुवामा उनीहरु पर्ने सम्भावना कम छ । नयाँ ब्याचका डिआइजीहरु कार्यक्षमतामा पनि अब्बल र पहुँचमा पनि अगाडि भएकाले उनीहरु नै बढुवामा पर्नेछन् । अर्काेतर्फ चार पदका लागि दर्जन धेरै प्रतिस्पर्धामा भएकाले पनि टक्कर चर्काे छ । डिआइजीमा ज्येष्ठताको वरियताअनुसार वसन्तबहादुर कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, मीरा चौधरी, रामदत्त जोशी, सन्दीप भण्डारी, किरण राणा, दुर्गा सिंहलगायत प्रतिस्पर्धामा छन् । हालको ३० वर्षे सेवाहद कायमै रहेमा यही टोलीबाट एक जना चैतमा आइजिपी हुने भएकाले अहिलेको बढुवामा चलखेल हुने सम्भावना छ ।

अर्काेतर्फ कांग्रेस नेतृत्वको सरकार बनेमा भने ३० वर्षे सेवाहद हट्ने सम्भावनासमेत रहेको बताइन्छ । ३० वर्षे सेवाहदले राज्यलाई पेन्सनको भार बढेको र क्षमतावान प्रहरीहरु कम उमेरमै अवकाश पाउने भएकाले यसलाई संशोधनको माग भइरहेको छ । सेवाहद हटेमा हालका महानिरीक्षक सिंहको कार्यकाल पनि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्