Logo
Logo

फिफा विश्वकप : साउदीसँग अर्जेन्टिना पराजित


1.1k
Shares

काठमाडौं । उपाधि दावेदार मानिएको अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको छ ।

लुसेल रंगशालामा मंगलबार अग्रता जोगाउन नसक्दा अर्जेन्टिना २–१ गोल अन्तरले पराजित भयो । पहिलो हाफमा १–० ले पछि परेको साउदीले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा २ गोल गर्दै अग्रता लिएको थियो ।

पहिलो हाफमा अर्जेन्टिनाले लगातार आक्रमण गरेपनि पेनाल्टी गोल मात्र सम्भव हुन सक्यो । अर्जेन्टिनाको तीन गोल अफसाइडकै कारण मान्य हुन सकेन ।

पहिलो हाफमा फितलो देखिएको साउदीले दोस्रो हाफको सुरुवाती समयमा अर्जेन्टिनालाई दबाबमा राख्दै खेलमा फर्कियो ।

नवौं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । कर्नर प्रहार गर्ने क्रममा पेनाल्टी क्षेत्रभित्र फल भएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टी दिएका थिए । कप्तान लिओनेल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

२२औं मिनेटमा मेस्सीले, लौटारो मार्टिनेजले २९औं र ३४औं मिनेटमा गोल गरे पनि भीएआरले त्यसलाई मान्यता दिएन । ४८औं मिनेटमा सालेह अल सेहरीले सुन्दर फिनिस गर्दै खेल बराबरीमा ल्याए ।

बराबरी गरेको ५ मिनेटमै सालेम अल दसारी साउदीलाई अप्रत्याशित अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोल भएको थियो ।

अर्जेन्टिनाले अन्त्यतिर लगातार आक्रमण गरेपनि साउदी गोलरक्षक अलोवाइसलाई समस्या दिन सकेन । यससँगै समूह सी मा साउदी अरेबियाले ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्