काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका छन् । नागरिकता प्रकरणमा चितवन क्षेत्र नं. २ का उम्मेदवार रहेका उनले मंगलबार दिउँसो ४.३० बजेतिर मुख्य निर्वाचन अधिकृतलाई शिलवन्दी गरेर बुझाएका हुन् ।

विदेशी नागरिकता लिएका कारण खारेज भएको नेपाली नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गराएको तथा पुनः नागरिकता प्राप्तिको प्रक्रियामा नगएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले लामिछानेले बुझाएको स्पष्टीकरण सिधै केन्द्रमा पठाउने र केन्द्रले नै निर्णय लिने बताए । ‘उहाँले शिलबन्दी गरेर बुझाउनुभएको छ, हामीले ढिला गरी पायौं, जतिसक्दो छिटो आयोगमा पठाउछौं’, मुख्य निर्वाचन अधिकृत थापाले भने, ‘हामीले यहाँ केही नगर्ने भएकोले शिलबन्दी नखोली पठाउँछौं ।’














