काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले निर्वाचनमा धेरै ठाउँमा धाँधली भएको आरोप लगाएका छन् ।

झापा ५ बाट निर्वाचित भएपछि प्रमाणपत्र बुझ्न आयोजित कार्यक्रममा परिणाम अपेक्षित नभएको भन्दै निर्वाचन धाँधली भएको बताएका हुन् । उनले भने, ‘यो परिणाम अपेक्षित छैन । धेरै ठाउँमा धाँधली भएको छ । हामी धाँधली भएका ठाउँमा पुनः निर्वाचनको माग गर्छौं ।’
निर्वाचन परिणाप्रति असन्तुष्ट देखिएका ओलीले अब मुलकमा पुनः फोहोरी खेल सुरु भएको जिकिर गरे । ‘पछिल्लो दुई वर्षमा मुलुकमा जस्तो फोहोरी खेल भएको थियो । अब त्यही दोहोरिनेछ, क्षमताको आधारमा जिम्मेवारी दिनेभन्दा टाउको गनेरभन्दा मोलमोलाइ गर्ने समय आएको छ ।’
उनले ५ वर्ष देश उकालो लागेमात्र देशले गति दिने भए पनि चुनावको परिणामले स्थायित्व नदिने बताए । अब टाउका गनेर भाग हिस्सा दिनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।
ओलीले चुनावी परिणामले कुनै पनि दलको वहुमत नदिएकाले भवितव्यले संसदमा पुगेकाहरुको टाउको गनेर मोलतोल हुने बताए ।














