काठमाडौं । आन्तरिक गठजोडका कारण यस निर्वाचनमा नेकपा एमालेले ठूलो क्षति बहोर्नुपरेको छ । टिकट वितरणको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएपछि कतिपय जित निश्चित भएको क्षेत्रसमेत एमालेले गुमाएको छ । तीमध्ये एक हो, अछाम ।

सुदूरपश्चिममा राम्रो पकड भएका नेता भीम रावललाई टिकट नदिएपछि एमालेले पश्चिममा क्षति बेहोर्नुपरेको हो । भीम रावलको गृह जिल्ला अछाममा त एमाले प त्तासाफ नै भएको छ । दुई निर्वाचन क्षेत्र र ४ प्रदेशसभा रहेको अछाममा यस पटक सबै सीट एमालले गुमाएको छ ।
अछामको निर्वाचन क्षेत्र १ र २ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने प्रदेशसभातर्फ पनि गठबन्धनले जित हासिल गरेको छ । अछाममा एमालेलाई हराएर सत्ता गठबन्धनले शक्ति बाँडफाँट गरेका छन् ।
अछाम–१ मा प्रतिनिधिसभातर्फ एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर विजयी भएका छन् । उनले एमालेका झपटबहादुर बोहरालाई भारी मतान्तर उछिन्दै जित हासिल गरेका छन् । एकीकृत समाजवादीका कुँवरले १९ हजार ५३४ मत पाउँदा बोहरा १५ हजार ४५ मतमा रोकिए ।
यस्तै, अछाम–२ मा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह विजयी भएका छन् । शाहले एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीलाई ६ हजारभन्दा बढी मतले पछाडि पार्दै जित हासिल गरेका हन् । गठबन्धनका उम्मेदवार शाहले २२ हजार ९५४ मत ल्याउँदा बोगटीले १६ हजार १५४ मत पाए ।
यस्तै, प्रदेशसभातर्फ पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अछामको प्रदेशसभा (१)मा नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का १२ हजार ३३७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका देवबहादुर कुँवरले ६ हजार ४९७ मत पाए ।
यस्तै, प्रदेशसभा (२)मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका झपटबहादुर साउद १२ हजार ११५ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णप्रसाल जैशीले ९ हजार १९ मतमा रोकिए । यससँगै एमालेका नेता भीम रावलको किल्ला मानिएको अछाममा एमाले पत्तासाफ भएको छ ।














