काठमाडौं । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेस नेता सुजाता कोइराला पराजित भएका छन् ।

उनी नेकपा एमालेका क्रषिकेश पोखरेलसँग १ हजार २०८ मतान्तरले पराजित भएका हुन् । पोखरेल ३३१४८ मत ल्याएर वजियी हुँदा कोइरालाले ३१ हजार ९४० मत पाएकी छन् ।
सुजाताका पिता समेत रहेका स्व गिरिजाप्रसाद कोइराला यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्री भएका थिए ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पाखरेल यसअघि २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए ।
पोखरेल २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए । कांग्रेसले यसपटक रिजाललाई टिकट नदिएर सुजातालाई अगाडि सारेको थियो ।
पोखरेल २०४२ सालमा कसेनीस्थित मार्क्सवादी अध्ययन केन्द्रको सदस्य भएर विद्यालयकालमा नै राजनीति सुरु गरेका हुन् । २०५४ सालमा उनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य भएका थिए । उनले अनेरास्ववियुको सचिवालय सदस्यको जिम्मेवारीसमेत पाएका थिए ।
२०४७ मा एमालेको जिल्ला कमिटी सदस्यबाट पार्टी राजनीति सुरु गरेका उनी अहिले दोस्रो कार्यकाल जिल्ला अध्यक्ष छन् ।














