काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् ।

शनिवार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको भन्दै त्यस्ता हल्लाहरूमा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको बताए ।
उनले सरकार बाचा पूरा गर्ने काममा लागीपरेको बताए । सभापति लामिछानेले रास्वपाले आफ्नै सरकारलाई दिएको सल्लाह, सुझाव र आलोचना फुटको संकेत नभइ बलियो आन्तरिक लोकतन्त्रको उदाहरणको रूपमा बुझ्न आग्रह गरे ।
रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पक्ष र विपक्षमा भएका बहसहरूलाई सकारात्मक रूपमा लिने उनको भनाइ छ । लामिछानेले यसपटक जनताले रास्वपालाई अवसर दिएको भन्दै अहिले पाएको जनमतबाट पनि मधेशले परिवर्तनको आशा र महसुस गर्न नसके आफू अर्को पटक भोट माग्न नआउने बताए ।
उनले जनता झुक्काएर भोट माग्ने चरित्र स्थापित हुने हो भने यस्तो राजनीति आफूलाई आवश्यक नरहेको बताए । मधेशी जनताको जीवनमा परिवर्तन प्राप्त गर्ने आशा, भरोसा र विश्वासका साथ आएको अवसरलाई धोका नदिन उनले नेता तथा कार्यकालाई आग्रह गरे ।


















