काठमाडौं । भारतले पाकिस्तानलाई एक विकेटले पराजित गर्दै यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । शनिवार भएको फाइनलमा पाकिस्तानले दिएको ३३८ रनको लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गरेको हो । यससँगै भारतले नवौँ पटक प्रतियोगिताको उपाधि जितेको छ ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३७ रन बनाएको थियो । पाकिस्तानका उस्मान खानले १११ बलमा १०७ रनको शतकीय पारी खेले भने अब्दुल कादिरले ५४ बलमा ८० र कप्तान फरहान युसुफले ६० बलमा ६३ रन बनाए। भारतका काव्या पटेलले चार तथा चिगुरुपति वेङ्कटाले तीन विकेट लिए ।
३३८ रनको लक्ष्य पछ्याएको भारतका लागि कप्तान लक्ष्य राजेश रायचन्दानीले ८० र आर्यवीर सहवागले ५८ रन बनाए । त्यसपछि मध्यक्रमका ब्याटरहरू लगातार आउट हुँदा भारत दबाबमा परेको थियो । मनल चौहानले ३२ बलमा ४७ रन बनाएर टोलीको जितको आशा कायम राखे ।
भारतका लागि मोहित उल्वाले अविजित ४९ रनको उत्कृष्ट पारी खेले । उनले २६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। अन्तिम विकेटका लागि चिगुरुपति वेङ्कटासँग ३० रनको साझेदारी गरेका मोहितले अन्तिम बलमा चौका प्रहार गर्दै भारतलाई रोमाञ्चक जित दिलाए । वेङ्कटा ११ रनमा अविजित रहे। यस जितसँगै भारतले पाकिस्तानसँग समूह चरणमा बेहोरेको हारको बदला पनि लिएको छ ।


















