Logo
Logo

यसपटक विजय गच्छदारले ‘बुथ कब्जा’ गरेनन् ?


55.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारबारे आम नेपाली नागरिकमा राम्रो छाप छैन । धेरैले उनलाई भ्रष्ट भन्छन् । यतिखेर पनि उनलाई भ्रष्टाचारको मुद्दाले घेरेको छ ।

जनमानसमा जतिसुकै नराम्रो छवि भए पनि निरन्तर निर्वाचन जित्दै आएका नेता मध्येमा पर्छन्, गच्छदार । तर, निर्वाचनको सन्दर्भमा उनी झनै बदनाम छन् ।

विगतका निर्वाचनहरू बुथ कब्जा गरेर जितेको उनीमाथि सार्वजनिक रूपमै आरोप लाग्ने गरेको छ । यसपटक पनि उनी परम्परागत निर्वाचन क्षेत्र सुनसरी–३ बाट नै प्रतिस्पर्धामा छन् । 

तर, यसपटक भने गच्छदारको जित यात्रा लगभग टुङ्गियोभन्दा पनि हुन्छ । त्यो पनि उनै पुराना प्रतिस्पर्धी एमालेका उम्मेदवार भगवती चौधरी सँगको प्रतिस्पर्धामा ।

विजय गच्छदारले बुथ कब्जा गरेर निर्वाचन जित्छन् भन्ने विषय निर्वाचनको पूर्वसन्ध्यामा पनि चर्चामा आयो । एमाले अध्यक्ष केपी शर्मा ओली सुनसरी पुगेरै– ‘गणतन्त्र ल्याइसकियाे तर अझै पनि विजय गच्छदारले  बुथ कब्जा गरेर चुनाव जित्ने ?’ भन्दै प्रश्न गरेका थिए ।

गच्छदारका पुराना प्रतिस्पर्धी भगवतीले त सार्वजनिक कार्यक्रमबाटै ‘कसैले बुथ कब्जा गरे सबैभन्दा पहिला म गोली हान्छु’ भन्दै नेता कार्यकर्तालाई उक्साएका थिए ।

यतिखेर सुनसरी–३ को मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म भगवतीले १८ हजार ४५६ मत पाएका छन् भने विजयले १३ हजार ९३७ मात्र पाएका छन् ।

पछिल्लो गणनाअनुसार भगवतीले झण्डै पाँच हजारले अग्रता लिएका छन् । गणना लगभग अन्तिम चरणमा पुगेकाले अब गच्छदारले जित्ने सम्भावना कम भएको छ ।

यसपटक भगवतीले निर्वाचन जिते लामो प्रयासपछि संसदीय यात्रा तय गर्नेछन् भने गच्छदारले बुथ कब्जा गर्न नसकेको चर्चा हुने छ ।

त्यसो त सबै जसो नेता निर्वाचन जिते राम्रो नजिते धाँधली भयो भन्न पछि पर्दैनन् । दलका नेताकै कारण निर्वाचनको निष्पक्षतामा समेत प्रश्न उठ्ने गरेको छ । गच्छदार पनि त्यसको सिकार हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्