Logo
Logo

निर्वाचनमा पूर्वपरराष्ट्रमन्त्रीहरुको कन्तबिजोग


2.3k
Shares

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा परराष्ट्र मन्त्रालय सम्हालेका नेताहरुको कन्तबिजोग भएको छ । ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, उपेन्द्र यादव, सुजाता कोइरालालगायत पराजित भएका छन् ।

पोखरेल ठूलो मतान्तरले काठमाडौं-५ मा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलसँग पराजित हुन पुगे । यो क्षेत्रमा एमालेको बलियो संगठन थियो । त्यस आधारमा पोखरेललाई जित्न सहज हुने आँकलन गरिएको थियो । तर, मतदाताले नयाँ उम्मेदवारलाई छाने ।

सरकारमा रहँदा पोखरेल बदनाम हुनु यसको प्रमुख कारण मानिएको छ । कोभिड संकटको बेला पोखरेल उपप्रधान तथा रक्षामन्त्री थिए । उनकै नेतृत्वमा कोभिड नियन्त्रण कमिटी बनेको थियो । जसमा ओम्नी समूहसँग मिलेर कमिसनतर्फ लागेको आरोप उनीमाथि लाग्यो । जसको सजाय उनले चुनावमा पाएँ । पाँच हजार ६२ मतले उनी हारेका छन् ।

प्रदीप ज्ञवाली तुलनात्मक रुपमा राम्रो छवि भएका नेता मानिन्छन् । तर, केपी शर्मा ओलीको प्रतिगमनको मतियार हुँदा गुल्मीका जनताको माया उनले पाउन सकेनन् । यद्यपि परराष्ट्र मन्त्रीका रुपमा उनको कार्यकाल मध्यम थियो । उनी कांग्रेसका चन्द्र भण्डारीसँग १ हजार पाँच सय ९२ मतान्तरले पराजित भएका हुन् ।

मधेसका सबैभन्दा शक्तिशाली नेता उपेन्द्र यादब यसपटक जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भारी मतान्तरले पराजित हुन पुगे । पाँच वर्ष मधेसमा उनकै पार्टीले सरकार चलाएको थियो । तर, यसपटक मधेसका जनताले उनलाई दण्डित गरेका छन् । सप्तरी २ मा उनी १८ हजार ६३ मतले हारे । राउतले ३५ हजार ४२ मत ल्याउँदा उनले १६ हजार ९ सय ७९ मत मात्र पाउन सके ।

पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला पनि मोरङबाट पराजित भएका छन् । १२०८ मतान्तरले उनी एमालेका ऋषिकेश पोखरेलसँग हारेका छन् । पोखरेलले ३३ हजार १४८ मत ल्याउँदा कोइरालाले ३१ हजार ९४० मत मात्र पाइन् । विगतमा गिरिजाप्रसाद कोइरालाले चुनाव लडेको यो क्षेत्रमा जनताले उनको छोरीलाई रुचाएनन् ।

प्रतिक्रिया दिनुहोस्