काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेशसभामा समानुपातिक सांसद चयनमा विवाद देखिएको छ । जसपाले मतको आधारमा ७ सीट पाएको छ । तर, जसपाले ७ जना सांसदको नाम टुंग्याउन नसक्दा पार्टी अध्यक्ष उपेन्द्र यावदले निर्वाचन आयोगमा १० जनाको सूची बुझाएका छन् ।

सात जनाको नाम चयनमा सहमति नजुटेपछि १० जनाको सूची बुझाएको जसपाको एक नेताको भनाइ छ । जसपाले विन्दुकुमारी यादव (महोत्तरी), किरणकुमारी साह (सप्तरी), शोभा देवी (रौतहट), सञ्जिला कुमारी यादव (सिरहा), चन्देश्वर सदा (सिरहा), ललिता दास (सिरहा), शाहिदा खातुन (सिरहा), ममता मण्डल (धनुषा), मो. युसुफ अलि (सप्तरी), मनिष कुमार सुमन (सप्तरी)को नाम निर्वाचन आयोगलाई बुझाएको छ ।
आयोगमा बुझाएको नामहरु समावेशी उम्मेदवारहरुको नाम छनोट गरिएको जसपाले जनाएको छ । तीमध्ये ७ जना आयोगले समावेशीताका आधारमा चयन भएको निर्णय गर्दा पार्टीमा विवाद नहुने जसपाको बुझाइ छ । तर, सात जनामध्ये ३ जना सांसद बन्नबाट बञ्चित हुने देखिन्छ ।














