काठमाडौं । कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । आइतबार बिहान कीर्तिपुर नगरपालिका–६ स्थित सशस्त्र प्रहरी गण अगाडि इण्डियन मोडर्न स्कूलको ना.१क १६१२ नम्बरको बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बल्खुबाट चोभारतर्फ गइरहेको उक्त स्कुल बसले रतेलाले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करपछि शक्त घाइते भएका रतेलाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।














