Logo
Logo

ढाका बुनाइले स्वरोजगार बन्दै महिला


504
Shares

रामपुर । शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउछिन् । ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उनले बताइन् ।

“बिहान साँझको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस क्षेत्रमा लागेपछि समयको सदुपयोग र स्वरोजगार बन्ने अवसर मिलेको छ”, उनले भनिन्, “मैले सिकेको सीप अन्य महिलालाई पनि सिकाउने गरेको छु” । उनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ढाका बुन्नमा व्यस्त छन् । ढाका बुनेर एक महिनामा रु २० हजारसम्मको कमाइ हुने गरेको उनले बताइन् ।

जीवन जीउन पहिलेदेखि धेरै सङ्घर्ष गएकी उनी आफू मात्रै स्वरोजगार नभई गरिव, विपन्न, कामको खोजीमा रहेका अन्य महिलालाई पनि ढाका बुन्न सिकाउँदै स्वरोजगार बन्न प्रेरणा दिने गर्छन् । घामपानी खेप्नु नपर्ने उद्योगभित्र बसेर हातले बुनेर जीविकोपार्जन गर्न पाइने यो व्यावसाय महिलालाई धेरै सहज भएको उनी बताछिन् ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पा तथा स्थानीय ढाका उद्योगमा सीप सिकेकी उनी दुई वर्ष अघिदेखि पाल्पाको तानसेनस्थित स्वदेशी बस्त्रकला पाल्पाली ढाका टोपी उद्योगमा ढाका बुन्ने गर्छिन् । सानो सीप भए पनि तल्लिन भएर निरन्तर काम गरियो भने ढाका बुनेर राम्रै कमाइ गर्न सकिने उनको अनुभव छ ।

तानसेन नगरपालिका १२ बौघापोखराथोककी धनी थापाले पनि अहिले एक वर्ष अघिदेखि ढाका बुनेर आफ्नो खर्च जुटाउन थाल्नुभएको छ । दिनभर घरमै फुर्सदमा बिताउने थापालाई ढाका बुनाईले व्यस्त बनाएको छ । तानसेन बजारमा कोठा भाडामा लिएर ढाका उद्योगमा काम गर्ने अवसर पाउँदा उनमा आत्मबल बढ्दै गएको छ ।

माथागढी गाउँपालिका–३ सराईका खिमकुमारी गाहाले ढाका बुनाइलाई नै प्राथमिकता दिएर आठ वर्षदेखि निरन्तर काम गर्दै आउनुभएको छ । तानसेन बजारमा भाडामा बसेर दिउँसोको समय ढाका बुन्ने त्यसैबाट आर्जन गरेको रकमले परिवार पाल्ने गर्छन् । आफूले यस क्षेत्रमा काम गर्न थालेपछि आर्थिक क्षेत्रमा अरुको निर्भर रहनु नपरेको गाहा बताउछन् ।

उनी भन्छिन्, ‘हातमा सीप भयो भने जहाँ बसेर पनि जीवन धान्न सकिन्छ, ढाकाको सीपले मलाई आत्मनिर्भर बनाएको छ, दुई चार पैसाका लागि अरुसंग हात थाप्नुपरेको छैन, आफैँले कमाउन सुरु गरेपछि कसैको तनाव भएन ।’ तानसेन–६ बर्तुङ बस्ने सानु केसीको ढाका सारीमा नयाँ नयाँ बुट्टा, डिजाइन राखेर तयार पार्ने राम्रो कला छ । ढाकाका सबैजसो कपडा बुन्ने गरे पनि सारी बुन्न उनी बढी मन पराउछिन् । ढाका बुनाइसम्बन्धी तीन महिनाको सीप विकास तालिम लिएकी उनी तानमा बसेर ढाका बुन्न थालेपछि सीप वृद्धिसँगै आयआर्जनको क्षेत्रमा पनि अब्बल बन्दै गएको बताउछन् ।

‘पछिल्लो समय ढाकाका सारी प्रयोग गर्ने बढ्दै गएका छन्, ग्राहकको रोजाइअनुसार विभिन्न डिजाइन भरेर सारी तयार पार्ने गरेको छु, तानमा बसेर ढाका बुन्दा आनन्द लाग्दछ’, उनले भने । रिब्दिकोट गाउँपालिका–६ ठिमुरेकी विष्णु पुलामी छोराछोरी पढाउन सदरमुकाम तानसेनमा भाडामा बस्छिन् । दुई जना छोराछोरीको भविष्य उज्वल बनाउन उचित शिक्षाको खोजीमा पाल्पा सदरमुकाम तानसेनमा भाडामा बसेकी उनलाई ढाका कपडा बुनाइले भुलाएको छ ।

बिहान साँझ छोराछोरीको स्याहारसुसारमा व्यस्त रहने उनी छोराछोरीलाई स्कुल पठाएपछि दिउँसोको समय ढाका बुनाइमा खर्चिएकी छिन् । उनका श्रीमान् शिक्षण पेसामा गाउँमै कार्यरत छन् । ढाका कपडा बुनाइमा संलग्न हुन थालेपछि सामान्य खर्चका लागि श्रीमानकाे हात थाप्नु नपरेको उनले बताए ।

ढाका कपडा बुनेबापत एक मिटरको तीन सयदेखि चारसयसम्म कामदारले ज्याला बुझे गर्छन् । हातको सीपले फुर्सदिला महिलालाई रोजगार गर्ने माध्यम ढाका कपडा बुनाइ बनेको छ । पछिल्ला वर्षमा सदरमुकाम तानसेनमा सञ्चालनमा रहेका विभिन्न ढाका उद्योगमा पाल्पाका धेरै महिला संलग्न छन् । बेरोजगार, विपन्न, फुर्सदिला महिलालाई ढाका उद्योगले स्वरोजगारको अवसर सिर्जना गरेको छ ।

स्वदेशी बस्त्रकला पाल्पाली ढाका टोपी उद्योगका सञ्चालक पूर्णमाया महर्जनले हाल दैनिक दुई दर्जन बढी महिलालाई रोजगार दिएको बताउछन् । पाल्पामै पहिलो ढाका उद्योग सञ्चालन गरेकी महर्जनले स्वरोजगार बनाउन महिलालाई सीप सिकाएर आफैँले उद्योगमा काम गर्ने अवसर दिएकी छन् ।

‘महिला आर्थिक क्षेत्रमा अब्बल नहुँदा घरपरिवार, श्रीमानको अवहेलना सहनुपरेको छ, मैले महिला कामदारलाई मात्रै प्राथमिकता दिएर उद्योगमा तान बुन्न दिने गरेको छु, अहिलेसम्म पाँच हजारभन्दा बढी महिलाले सीप सिकिसकेका छन्’, महर्जनले भने । उनको उद्योगमा एक सय वटा विभिन्न खालका तान तयारी अवस्थामा छन् । पित्लुम (खाल्डेतान), हेण्डलुम, हाते जेकार्ड, हातेतान लगायतका तानमा बसेर महिलाले ढाका कपडा तयार पार्ने गरेका छन् । पाल्पाकै पहिलो र पुरानो उद्योग भएकाले यहाँ नयाँ पुराना सबैजसो तान चलनचल्तीमा आएका छन् ।

यस उद्योगमा नेपालका ३६ जिल्लाबाट सीप सिक्न आएर आफ्नो सीप विस्तार गरेका छन् । बिहानदेखि साँझसम्म उद्योगमा कामदार नियमित खटिरहेका हुन्छन् । आफूले जति धेरै उत्पादन गर्न सकियो सोहीअनुसार आम्दानी हुने भएकाले बिहानदेखि साँझसम्म निरन्तर ढाका बुन्नमा महिला व्यस्त बनिरहेका हुन्छन् । उद्योगका व्यवस्थापक मोहन हेम्चुरीका अनुसार यहाँ एक महिनामा तीन सय मिटरभन्दा बढी ढाका कपडा उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको कपडा नेपाल अधिराज्यभर पुग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्