Logo
Logo

गौचन हत्याकाण्डमा गौतमको शंकास्पद धन्दा, ठेकेदारको सूचना डन बस्नेतकोमा कसरी पुग्यो ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका नाइके समीरमानसिंह बस्नेतसँग गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले ठेकेदारहरुबाट फिरौती असुलीका लागि केन्द्रीय कारागारमा नियमित रुपमा भेटघाट गरेको प्रकरणले ठुलै हलचल मच्चिएको छ ।

सन्तोष गौतम र समीरमान बस्नेत

ठेकेदारहरुलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहका नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान अनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको देखिएपछि थापा गत मंगलबार पक्राउ परेका थिए । उनीमाथि केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले अनुसन्धान गरिरहेको छ । सिआइबीले ठेकेदार जयराम लामिछाने, दीपक गौतम, लाक्पा नुरु शेर्पासहित २५ जनाको सामूहिक जाहेरीको आधारमा थापाका भाइसहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, वीरबल भट्टराई रमनबहादुर पुन मगरलाई पक्राउ गरेको छ भने छ भने जावेद भनिने जावेद अनवरदिन फरार छन् ।

सिआईबीमा जाहेरी दिने मध्यका दिपक गौतम प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटेका पार्टनर समेत हुन् । गजुरमुखी नामको कम्पनीमा घंैटेसहित सन्तोष गौतम, दिपक गौतम र जगदिशनरसिंह केसीको पनि लगानी रहेकोमा अहिले सन्तोष गौतम उक्त कम्पनीका हर्ताकर्ता बनेर काम गर्दै आएका छन् । एउटै कम्पनीमा रहेका साझेदार दिपकलाई धम्की आउने र सन्तोष गौतम भने ठूला ठूला ठेक्कामा सेटिङ गरेर काम गर्दै आएका कारण पनि उनको भूमिका शंकास्पद देखिएको छ । गजुरमुखीमा गौचनको पनि शेयर रहेको थियो भने घैंटेका मित समेत रहेका समिरमानले रकम भागबन्डाकै कारण विवाद नमिलेर गौचनको हत्या गरेको बयान दिएका थिए ।

सन्तोष गौतमले गुण्डाका नाइकेलाई सहयोग र दुरुपयोग गर्दै आएको महासंघ स्रोत बताउँछ । गौतमले घैटेका मित समिरमान बस्नेतलाई सहयोग गरी दुरुपयोग गर्ने गरेको आशंका गरिएको छ । बस्नेत जेल जानु अघि गौतमले प्रहरीसँग निकट भई बस्नेतविरुद्ध प्रहरीले गरेको अप्रेशनको सूचनासम्म चुहाउने गरेको र ठेकेदारहरुको सूचनासमेत दिने गरेको आरोप लागेको थियो । गौतमलाई अपराध महाशाखाका तत्कालीन एसएसपी दिनेश अमात्य र काठमाडौं परिसरका तत्कालीन प्रमुख छविलाल जोशी बन्जाडेले सघाउने गरेका थिए ।

गौतमको त्यतिबेला अमात्य र जोशीसँगको उठबसलाई कतिपय प्रहरीहरुले रहस्यमय मानेका थिए । स्रोतका अनुसार अमात्यलाई प्रयोग गरी गौतमले घैंटेको फसेको केही पैसा समेत उठाउन सफल भएका थिए । प्रहरी स्रोत भन्छ– गौतमले निर्माणका टेन्डरको रकम गौचनसँग लिएर गुण्डा र प्रहरीलाई छुट्याउन लगाई भागवन्डा गर्दै आएका थिए । गौतमको यही प्रकरणसँग समेत जोडिएका निलम्बित डिएसपी कुमोद ढुङगेलसँग पनि उठबस छ । गौतमको गौचन हत्या काण्डमा संलग्नता छ वा छैन भन्नेबारेमा अनुसन्धान गर्ने हो भने उनको भाइबर, म्यासेन्जेर, इमो र ह्वाटसएपलाई केलाउनुपर्ने एक ठेकेदार बताउँंछन् । स्रोत भन्छ– उनको मोबाइलमा नियमित आइरहने बिदेशी मोबाइल नम्बरको कल डिटेल्स निकालेर अनुसन्धान गर्ने हो भने पनि उनी गौचन हत्या प्रकरणमा तानिन्छन् । घैंटे इन्काउन्टर पश्चात गुमनाम रहेका गौतम प्रहरीसँग हिमचिम बढाउन पुगेका थिए । घैंटेको करोडौं रकम उनीसँग भएको भन्दै अपराध महाशाखाका तत्कालीन प्रमुख सर्वेन्द्र खनालले उनीमाथि निगरानी राखेका थिए । घैंटेको श्रीमती पिङ्की शेर्पाले समेत गौतमसँग करोडौं रुपैयाँ भएको दाबी गर्दै आएकी छन् । गौतमले भने चिनजान भएको तर कुनै व्यवसायीक साझेदारी नभएको दाबी गर्दै आएका छन् ।

स्व. शरद गौचन

गजुरमुखी निमार्ण सेवाको शेयरहोल्डर समेत रहेका गौतमले कुनै ताका टेण्डर कब्जा गर्नकै लागि घैंटेलाई आफ्नो कम्पनीमा भित्र्याएका थिए । गौचन हत्याका लागि तत्कालीन डिआईजी गणेश केसीको छानविन समितिले गौचनसँग कारोबार भएका व्यक्तिहरु र उनलाई धम्क्याउँदै आएको समूहको बारेमा अनुसन्धान गर्दा गौतमलाई पनि बयानका लागि बोलाइएको थियो । तर त्यतिखेर डीएसपी ढुङ्गेलले गौतमलाई जोगाएको एक ठेकेदार दाबी गर्छन् । ती ठेकेदारका अनुसार गौचन र प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’को मिलन गौतमले नै गराएका थिए भने बस्नेतलाई प्रयोग गरी गौतमले काठमाडौंमा ठेक्का कब्जा गर्दै आएका छन् । त्यस्तै ठेकेदार महासंघबाट आउने कमिसन पनि गौतमले डिएसपी ढुङगेलमार्फत् प्रहरीका उच्च हाकिमहरुलाई बाँड्दै आएका थिए । गौचनको पहलमा दश अर्बको हुलाकी राजमार्गको टेण्डर चिनियाँ कम्पनीलाई दिलाइएको थियो ।

गौचनमाथि त्यतिबेला बस्नेतको समूहले तीन करोड माग गरेको थियो । स्रोतका अनुसार उक्त टेण्डर मिलाएबापत गौचनको समूहले महासंघको नाममा ५० करोड कमिशन लिएको भन्दै गौतमको निर्देशनमा बस्नेतले गौचनसँग रकम माग गरेका थिए । सोही रकमको भागवण्डा नमिलेपछि गौतमकै सूचनाका आधारमा गौचनमाथि आक्रमण भएको ठेकेदारहरु बताउंँछन् । त्यो बेला कमिसन नपाएपछि गौतमले सबै सूचना बस्नेतसम्म पु¥याई गौचन र जिपछिरिङ लामालाई इन्टरनेटकल मार्फत् धम्काएका थिए । एक ठेकेदार भन्छन्–‘गौतमको इमो, भाइवर र मेसेन्जर अनुसन्धान गर्ने हो भने बस्नेतसँगको कनेक्सन बाहिर आउँछ । समिरमानले गौतमलाई जेलबाटै फोन समेत गरेको भेटिनेछ ।

प्रतिक्रिया दिनुहोस्