
भरतपुर । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो ।
जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ ।
बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले जानकारी दिए । यी दुइ स्टेशन करिब ९० लाखको लागतमा निर्माण गरिएको हो ।
दुईवटा स्टेशनमा एक पटकमा छ वटासम्म गाडी चार्ज गर्न मिल्छ । आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेशन निर्माण गरिएको इञ्जीनियर ज्ञवालीले बताए ।
बसपार्कमा दुईवटा फरक टेक्नोलोजी सिसीएच र जिबिटीका चार्जर स्टेशन निर्माण गरिएको चार्जिङ स्टेशन निर्माणको जिम्मा पाएको दिगोका प्रोजेक्ट म्यानेजर शिव अधिकारीले जानकारी दिए। उनका अनुसार यहाँ साना–ठूला सबै सवारीसाधनको चार्ज गर्न मिल्छ । नेपालमा उपलब्ध रहेका सवारीसाधनको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा चार्ज पूर्ण हुन्छ ।
प्राधिकरणले देशभर ५१ चार्जिङ स्टेशन निर्माणको लक्ष्य राखेर काम गरिरहेको छ । जसमा १२ वटा सञ्चालनमा आइसकेका छन् भने ३२ वटा जडान सम्पन्न भइसकेका छन् । बाँकी चार्जिङ स्टेशन निर्माणको अन्तिम चरणमा पुगेको प्रधिकरणले जानकारी दिएको छ ।














