काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार तथा महामन्त्री गगनकुमार थापाले नेताहरू रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई परिवर्तनको पक्षमा उभिन आग्रह गरेका छन् ।

संसदीय दलको नेताको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले यस्तो आग्रह गरेका हुन् । पौडेल अर्का उम्मेदवार तथा पार्टी सभापति शेरबहादुर देउवाका प्रस्तावक हुन् भने सिंह अहिलेसम्म कतैपनि खुलेका छैनन् ।
थापाले भने- ‘श्रद्धेय नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यको चिन्ता गरेर नेपालको लोकतन्त्रको बारेमा सदा उहाँले गर्दै आउनु भएको चिन्तालाई पनि स्मरण गर्दै र कांग्रेसभित्रको परिर्वतनको सन्देशलाई मनन् गर्न पनि आग्रह गर्छु, त्यस्तै अर्का नेता प्रकाशमान सिंहलाई पनि आग्रह गर्न चाहन्छु । अघिल्लो संसदीय दलको निर्वाचनमा उहाँको उम्मेदवारी रहँदा परिवर्तनको पक्षमा दृढतापूर्वक उभिएको स्मरण गराउन चाहान्छु । अहिलेको परिस्थितिलाई विचार गर्न आग्रह गर्छु ।’
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा पूर्णबहादुर खड्का छन् ।महामन्त्री थापाको प्रस्तावकमा शेखर कोइराला छन्। समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल र उपसभापति धनराज गुरूङ छन् ।














