काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई शपथ ग्रहणमा सहभागी हुँदा राष्ट्रिय पोशाक लगाएर आउन मौखिक निर्देशन गरेको छ । साथै, सबै सांसदलाई नेपाली भाषामै शपथ लिनसमेत भनिएको छ ।

एक सांसदका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट यस्तो मौखिक सर्कुलर भएको हो । तर, अध्यक्ष ओलीको यस्तो निर्देशनले केही सांसद भने असन्तुष्ट भएका छन् ।
संविधानमै आफ्नो मातृभाषा र पोशाकमा सपथ लिन सक्ने व्यवस्था भएकामा नेतृत्वले राष्ट्रिय भाषा र पोशाक अनिवार्यजस्तै गर्न खोजेको भन्दै केही सांसद असन्तुष्ट बनेका हुन् । ती सांसदहरुले आफ्नो भाषा र भेषअनुसार शपथ लिन पनि पाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले शपथ खुवाउने कार्यक्रम तय भएको छ ।














