काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नयाँ सरकारका मन्त्री नबन्ने भएका छन् ।
कांग्रेस संसदीय दलको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग बोल्दै महामन्त्रीद्वय थापा र शर्माले आफूहरू मन्त्री बन्ने कुरामा नरहेको स्पष्ट पारेका हुन् ।

संसदीय दलको नेतामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएको महामन्त्री थापाले थापाले अब बन्ने सरकारमा आफू मन्त्रीका रूपमा भने सहभागी नहुने बताए । महामन्त्री शर्माले पनि नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए ।
आफूहरू पार्टी कार्यालयमा बसेर गर्ने काम गर्ने उनीहरुले बताए । पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेको उनीहरूले बताए ।
महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरूलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा लाग्ने पनि बताए ।














