सुर्खेच । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले संसदीय दलको नेता छनोट प्रक्रिया सुरु गरेको छ । प्रदेश समितिले संसदीय दलको नेता छनोटका लागि बुधबार पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा गठन गरिएको समितिमा अर्का उपसभापति जनकराज चौधरी, नरनारायण शाह मनु, प्रदेश सदस्य सुरत रावत र रामबहादुर देउवा सदस्य रहेका छन् । प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति जारी गर्दै दलको नेता छनोटका लागि मिति गठन गरिएको जानकारी दिएका हुन् ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा सहमति जुट्न सकेको छैन । बैतडीबाट निर्वाचित शिवराज भट्ट, कञ्चनपुरबाट निर्वाचित बहादुरसिंह थापा र दिवानसिंह विष्ट र अछामबाट निर्वाचित मेघराज खड्का र मानबहादुर रावल, कैलालीबाट निर्वाचित प्रकाशबहादुर देउवा र कमलबहादुर शाहले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन् । सर्वसम्मत हन नसके निर्वाचनमार्फत दलको नेता छनोट गर्ने तयारी कांग्रेसले गरेको छ ।











